काठमाडौं। फर्जी बिल काटेर आलोचित बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नयाँ प्रमाण जुटाउन लागेका छन्। उद्योगले लोडसेडिङका बेला २४ सै घण्टा विद्युत् उपभोग गरेको प्रमाण आफूसँग रहेको दाबी गर्दै आएका घिसिङले सबस्टेसनसँग लकसिट मागेका छन्।
घिसिङले टिओडी मिटरको हवाला दिएर उद्योग/उद्योगमा फर्जी बिल काटेका थिए। उद्योगीले लोडसेडिङका समयमा लोडसेडिङभित्रै बसेर उद्योग सञ्चालन गरेको दाबी गरेका थिए। यदि नबसेको प्रमाण प्राधिकरणसँग भए देखाउन उद्योगीले बारम्बार माग गरेका छन्।
घिसिङले अहिलेसम्म टिओडी मिटर देखाउन सकेका छैनन्। टिओडीको प्रमाण नभएपछि उनले सम्पूर्ण सबस्टेसनलाई ११ बजेसम्म सम्पूर्ण लकसिट उपलब्ध गराउन निर्देशन दिएका हुन्।
‘कुन प्रशासन लाइनमा कति बजेसम्म बत्ति थियो? कति बजे बत्ति गयो भन्ने रेकर्ड हुन्छ। त्यो लकसिटलाई आफू अनुकूल पनि बनाउन सकिन्छ,’ ती प्राविधिकले क्यापिटल नेपालसँग भने।
घिसिङले हिजोसम्म आफूसँग टिओडी मिटरको सम्पूर्ण विवरण छ भनिरहेका थिए। आज एकाएक सबस्टेसनसँग लकसिट माग्नु थाल्नुले प्राधिकरणको बदमासी झन छताछुल्ल भएको हो।
सबै प्रसारण लाइनलाई फोन गरेर लकसिट मागिएको छ। टिओडी मिटर उद्योग उद्योगमा हुन्छ। लकसिट भनेको सबस्टेसनसँग हुन्छ। लकसिटले कानुनी रुपमा समेत मान्यता नपाउने ती प्राविधिकको भनाइ छ।
एउटा प्रसारण लाइनबाट १० वटा उद्योग चल्छन्। कुन उद्योग चल्यो, कुन उद्योग चलेन कसरी थाहा हुन्छ? प्रसारण लाइनमा डोमेस्टिक लाइन पनि जोडिएको हुन्छ।
टिओडी डाटा नभएकै अवस्थामा प्राधिकरणका कार्यकारी निर्देशकले ६२ वटा उद्योगलाई छुट बिल बन्दै फर्जी बिल काटेका थिए। फर्जी बिल भुक्तान नगरेको भन्दै प्राधिकरणले ९ उद्योगको लाइन पनि काटिसकेको छ। उद्योगीले आफूहरुले बिजुली बालेको प्रमाण देखाउन प्राधिकरणसँग माग गरिरहेका छन्। उनीहरुको माग जायज हो।