काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सूचना प्रविधि क्षेत्रमा आफ्नै तत्परतामा हजारौं युवाहरूले झन्डै ७० अर्ब यसै वर्षमात्र देशमा ल्याएको बताउँदै अब उनीहरुसँग सम्वादमा बस्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले आफ्नो सरकारले एक वर्ष अवधि पुरा गरेको अवसरमा सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘सूचना प्रविधि क्षेत्रमा आफ्नै तत्परतामा हजारौं युवाहरूले झन्डै ७० अर्ब यसै वर्षमात्र देशमा ल्याएका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘अब म उनीहरूसँग नियमित संवादमा बस्छु। उनीहरूलाई अवरोध पुगेका सबै गाँठा फुकाउँछु र परिणाममुखी संयन्त्र बनाउँछु।’
उनले उद्यमशीलताको विकास नहुँदा मुलुक विकास हुन नसकेको बताए। ‘देश किन सोचेजति अघि गएन भने हामीले उद्यमशीलताको विकास गर्न सकेनौं भन्ने समीक्षा गरी अब म उद्यमशीलताको माध्यमबाट आर्थिक उन्नति र रोजगारीको घोषणा गर्दछु’ प्रधानमन्त्री दाहालले भने।
उनले सबै किसिमका नीति, कानुन र स्रोतलाई उद्यमशीलताको दिशामा उन्मुख गराउन तत्काल एकीकृत रणनीति बनाउने बताए। गैरसरकारी क्षेत्रका स्रोतलाई एउटै बास्केटमा राखेर परिचालन गर्ने रणनीति बन्दैछ भने सबै किसिमका स्रोतलाई ‘च्यालेन्ज फन्ड’ मा राखेर परिचालन गर्ने पनि उल्लेख गरे।
‘सरकारी कार्यालयहरूबाट हुने सेवा वितरणलाई सूचना प्रविधिमा आधारित बनाइँदैछ। मेरो पहिलो कार्यकालमा रणनीतिक महत्त्वको रूपमा सुरु गरेको मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गको रूपमा विकास गरिँदैछ,’ दाहालले भने, ‘यसै क्रममा कोसी प्रदेशका सबै जिल्लामा अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भएको छ।’
उनले चैतभित्र सबै केन्द्रीयस्तरका सरकारी कार्यालयहरूमा सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने बताए।