काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् क्षेत्रमा यो १ वर्ष विगतको तुलनामा ८० वर्ष बराबर भएको बताएका छन्। मंगलबार प्रचण्ड सरकारले एक वर्ष अवधि पुरा गरेको अवसरमा देशव्यापी सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘फर्पिङ आयोजनाबाट सुरु भएको विद्युतीकरणको यात्रामा त्यसयताको १ सय ४ वर्षसम्म जम्मा ८ सय मेगावाट मात्रै विद्युत क्षमता पुगेको थियो। तर, विगत सात वर्षभित्र नेपालको विद्युत् क्षमता बढेर २ हजार ८ सय ९२ पुगेको छ,’ प्रधानमन्त्रीले भने, ‘जसमध्य करिब ५ सय ४१ मेगावाट यही वर्षमा मात्रै थपिएको छ। विगतको हिसाबले यो १ वर्ष करिब ८० वर्ष बराबर हो।’
उनले ठूलो जनसंख्या यतिबेला विद्युत् पहुँचमा पुगेको र आयात गर्नुपर्ने अवस्थाबाट नेपाल विद्युत् निर्यातको अवस्थामा पुगेको बताए।
‘विगत एक वर्षमा ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ,’ प्रधानमन्त्रीले भने, ‘जुन अघिल्लो वर्षको तुलनामा ३१.२८ प्रतिशत बढी हो। पाँच वर्षसम्म यो अवस्थाको परिकल्पना समेत गरिएको थिएन।’
उनले यद्यपि आफूले यसैमा सन्तोष नमानेको बताए। ‘यसै वर्ष भएको मेरो भारत भ्रमणको क्रममा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यका साथ दीर्घकालीन जलविद्युत् सम्झौतामा हस्ताक्षर भएको छ। यो दूरगामी महत्त्वको सम्झौता हो,’ उनले भने।
यस्तै, चीन भ्रमणका क्रममा पनि विद्युत् सम्झौता भएकाले छिट्टै नेपालले बिजुली बेचेर समृद्धि हासिल गर्ने उनले बताए।