काठमाडौं। १० दिने वृहत दोलखा महोत्सवको तयारी पुरा भएको छ। दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने वृहत दोलखा महोत्सव हुन लागेको हो।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। महोत्सवको उद्घाटन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जनाइएको छ। प संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले महोत्सवमा १५० वटा स्टल राखिने जानकारी दिए। महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवद्र्धन गरिने उनले बताए।
स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, नीजि क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन लगायत प्रदर्शनीमा राखिने पनि उनले बताए।अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पर्यटकका स्वागतका लागि स्ट्रिट फुड फेस्टिभलको आयोजना पनि गरिने भएको छ। महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने उनले जानकारी दिए।
दोलखालाई लगानीमैत्री जिल्लाका रुपमा विकास गर्ने यस संघको उद्धेश्य रहेको छ। पर्यटन, कला संस्कृति, जलस्रोत तथा कृषि क्षेत्रमा धनी दोलखाको आर्थिक विकास र पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागिरहेको महोत्सव सफल पार्न र दोलखाका चरिकोट बजार, जिरी र पर्यटकीय स्थलहरु दोलखा भीमेश्वर, कालिञ्चोक भगवती, शैलुङ, च्छोरोल्पा हिमताल, विगु गुम्बा, रोल्वालिङ उपत्यका, हनुमन्तेडाँडा, चेर्दुङ लगायतलाई थप प्रचार प्रसारमा सहयोग गर्न सबै समक्ष उद्योग वाणिज्य संघ दोलखाले अपील गरेको छ।
महोत्सवमा कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका साथसाथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु र विद्यालयस्तरीय प्रतियोगिताहरु पनि सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए।