काठमाडौं। छिमेकी राष्ट्रको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्।
मंगलबार बेल्ट एन्ड रोड इनिसियटिभको १०औं वार्षिकोत्सव तथा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६८औं वार्षिकोत्सव अवसर पारेर नेपालस्थित चिनियाँ दूतावासको समन्वयनमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले यस्तो बताएकी हुन्।
छिमेकीले गरिरहेको आर्थिक प्रगतिबाट नेपाल खुसी रहेको औल्याउँदै उनले त्यहाँको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मक रुपमा बढाउनुपर्नेमा जोड दिइन्।
‘चिनियाँ सहयोगमा नेपालमा महत्त्वपूर्ण आयोजना अघि बढ्ने हाम्रो अपेक्षा छ। नेपाल–चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाडौं–केरुङ–लुम्बिनी रेलमार्गजस्ता आयोजना अघि बढ्न सके यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिनेछ,’ मन्त्री शर्माले दोस्रो चाइना–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै भनिन्।
चीनले महत्त्वपूर्ण परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सुरु गरेको दस वर्ष पूरा भएको अवसरमा बधाइ दिँदै उनले यो अवधिमा १५० देश र ३० वटा अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहायता प्लेटफर्मको रुपमा यो परियोजना स्थापित हुनु महत्त्वपूर्ण प्रगति भएको र यसबाट नेपालले यथोचित लाभ लिन अझै मिहिनेत गर्नुपर्ने काम बाँकी रहेको बताइन्।
‘सरकार–सरकार र जनता–जनताबीचको सम्बन्धलाई थप उचाइमा अघि बढाउन दुवै देशका सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका छ। त्यसका लागि पनि यस्ता सम्मेलन फलदायी हुनेछन्,’ शर्माले भनिन्।
संसारमै सबैभन्दा धेरै जनसंख्या भएको चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले तीमध्ये बर्सेनि केही प्रतिशत मात्रै गौतम बुद्धको जन्मस्थल नेपाल आउने वातावरण बनाउन सकिए नेपालको पर्यटन प्रवद्र्धनमा कायापलट हुने उनको भनाइ छ।
नेपाल र चीनबीच खासगरी नुन, ऊन र सुनको व्यापार विनिमयबाट दुई देशको सभ्यता र सम्बन्ध सुरु भएको उल्लेख गर्दै उनले अब दुवै देशबीचको व्यापार दर बढाउनुपर्ने औंल्याइन्।
यसबाट नेपालले वर्षौदेखि बेहोर्दै आएको व्यापार घाटा कम गर्न चीनसँगको व्यापार सहयोगी बन्ने नेपालको अपेक्षा रहेको उनले प्रस्ट्याइन।
‘नेपालबाट चीनमा गलैंचा, पास्ता, फेल्ट, फर्निचर, हातेकागज, जडीबुटी, तरकारीलगायत वस्तु निर्यात हुँदै आए पनि आयात अनुपातमा निर्यातको मात्र निकै न्यून छ,’ मन्त्री शर्माले भनिन्, ‘यसमा हामीले वस्तु उत्पादन वृद्धिमा ध्यान दिनुपद्र्ध। नेपाल–चीनबीचका थप नाका खोलिनुपर्छ। भन्सार बिन्दु सहज बनाउने र भन्सार छुटलगायतका क्षेत्रमा नेपालको गहिरो चासो रहँदै आएको छ।’