काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनर्संरचनाको आवाज उठिरहेको समय नेप्सेभित्रका गम्भीर समस्या सतहमा आएका छन्। लामो समयदेखि नेप्से पुनर्संरचनाको विषय उठ्दै आए पनि सरोकारवालाले चासो देखाएको पाइँदैन। तथापि, नेप्सेको अवस्थालाई लिएर सार्वजनिक भएका पछिल्ला केही तथ्यले पुनर्संरचना अत्यावश्यक भएको देखाएको छ।
बोर्ड सञ्चालक समितिले आइटी विज्ञ सरोज लामिछानेको संयोजकत्वमा बनाएको समितिको अध्ययन प्रतिवेदनमा नेप्सेका गम्भीर समस्या औंल्याउँदै पुनर्संरचना अपरिहार्य रहेको देखाएको हो। अध्ययनले सूचना प्रविधि, सुरक्षा स्थिति र परिचालन क्षमतामाथि गम्भीर प्रश्न उब्जाएको छ।
विशेषगरी भिपिएनबाट नेप्सेको विद्युतीय कारोबार प्रणाली (नट्स)मा पहुँच राख्ने वाइकोले जानकारीबिनै कुनै पनि समय नेप्सेको नेटवर्कमा प्रवेश गर्न सक्ने अवस्था लज्जास्पद रहेको प्रतिवेदनमा भनिएको छ।
बोर्ड सञ्चालक समितिले आइटी विज्ञ सरोज लामिछानेको संयोजकत्वमा बनाएको समितिको अध्ययन प्रतिवेदनमा नेप्सेका गम्भीर समस्या औंल्याउँदै पुनर्संरचना अपरिहार्य रहेको देखाएको हो।
अध्ययनले प्राविधिक सञ्चालनका लागि तेस्रो पक्षसँग अत्यधिक निर्भरता हुनुपर्ने बाध्यता रहेकै कारण व्यावसायिक जोखिम उच्च रहेको विषय पनि प्रस्ट्याएको छ। यसरी हेर्दा विगतदेखि नै सेयर बजारमा तेस्रो पक्षको पहुँच रहेको, बजार स्वतन्त्र र निष्पक्ष नभएको तथा गम्भीर जोखिमबाट गुज्रिरहेको देखिन्छ।
अध्ययन प्रतिवेदनबाट नेप्से पुनर्संरचना अपरिहार्य देखियो : रौनियार
यी प्राविधिक तथा अन्य सम्पूर्ण किसिमको कमजोरी र लापरबाहीपूर्ण अवस्था हेर्दा नेप्से पुनर्संरचना मात्रै अन्तिम विकल्प रहेको सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्। ‘सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा जति पनि कुरा आएका छन्, ती सबै यथार्थ हुन्। यसलाई समर्थन गर्छु। यस्ता अध्ययन समय समयमा हुनुपर्छ भन्ने पक्षमा हामी छौं,’ रौनियार भन्छन्, ‘अध्ययनले सम्बन्धित पक्षको आँखा खुल्छ।’
विभिन्न समय अध्ययनले देखाएका कमजोरी पनि सुधार नहुने, सुधारका लागि दिएका सुझाव बेवास्ता गरिने काम निरन्तर हुँदै आएकाले यसलाई सुधार्न पनि नेप्से पुनर्संरचना र नयाँ स्टक एक्सचेञ्ज आवश्यक भएको उनले सुझाए।
पुरानो स्टक एक्सचेञ्जमा वेबसाइट नचल्ने, अनलाइनबाट काम गर्न समस्या हुने तथा प्राविधिक त्रुटि ठूलो संख्यामा रहेको रौनियारको भनाइ छ।
‘पुरानो स्टक एक्सचेञ्जमा अध्ययन प्रतिवेदनले औंल्याएका समस्या लामो समयदेखिका हुन्। वित्तीय कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) नचल्ने समस्या पनि बारम्बार दोहोरिने गर्दछ,’ रौनियारले भने, ‘अब नयाँ टिएमएस प्रविधि र आधुनिक डिजिटल प्रविधिको प्रयोग हुनुपर्छ। हामीले धेरै पटक यस्ता कुरा उठाए पनि यसको सनुवाइ भएको छैन।’
उनले नेप्सेबाट बजारको अध्ययनसमेत नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। नेपालभन्दा साना मुलुकमा समेत दुई वटा स्टक एक्सचेन्ज भएकाले यो अवस्था अन्त्य गर्नुपर्ने उनको तर्क छ। ‘हामीभन्दा साना मुलुकमा दुई वटा स्टक एक्सचेञ्ज छन्। नेपालमा एउटा मात्रै स्टक एक्सचेन्जको एकाधिकार छ,’ रौनियारले भने, ‘सर्वसाधारणलाई सेयर वितरण नगरेर सम्पूर्ण सेयर नियन्त्रणमा राख्ने काम भएको छ।’
अध्ययनले प्राविधिक सञ्चालनका लागि तेस्रो पक्षसँग अत्यधिक निर्भरता हुनुपर्ने बाध्यता रहेकै कारण व्यावसायिक जोखिम उच्च रहेको विषय पनि प्रस्ट्याएको छ।
नयाँ स्टक एक्सचेन्ज आउँदा नेप्सेमा प्रतिस्पर्धा हुने भएकाले यसमा सुधार हुने उनको दाबी छ। ‘नयाँ स्टक एक्सचेन्ज आएपछि रियल सेक्टरलाई आकर्षित गर्छ र यहाँ अन्तर्राष्ट्रिय स्तरको प्रविधि पनि भित्रिन्छ,’ रौनियार भन्छन्, ‘यसले लगानीकर्ताको हकहितका विषयमा काम गर्न मद्दत गर्छ। कुन व्यापारीले नयाँ स्टक पाउँछ भन्ने हाम्रो विषय नभए पनि नयाँ कम्पनी आउनैपर्छ।’
वाइको कम्पनीले विकास गरेको प्रणालीमार्फत तेस्रो पक्षले डिम्याटमा कुन सेयर छ, कति किन्यो र कति बेच्यो भन्ने सबै हेर्न मिल्ने सुविधा ठूलो अपराध भएको रौनियार बताउँछन्।
‘संसारमा यस्तो कहीँ हुँदैन। सम्बन्धित पक्षलाई तुरुन्तै कारबाही हुनुपर्ने हो,’ उनले भने, ‘नेप्से पुनर्संरचना र नयाँ स्टकको विषय अघि बढाउन लाग्दा नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षलाई नै ओझेल पारिएको छ।’
नेप्सेमा कुनै एउटा पक्षको मात्रै शतप्रतिशत सेयर छ। सरकारी निकाय भएकाले अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका निकायबाट सचिवस्तरका मानिस बोर्डमा छन्। पुँजी बजारलाई निजी क्षेत्रले काम गर्ने भनिए पनि यसमा एउटाको मात्रै मनोपोली रहेको रौनियारको बुझाइ छ।
प्राविधिक असुरक्षाले बजार र लगानीकर्ता समस्यामा : पोखरेल
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल स्टक एक्सचेञ्जमा देखिएका प्राविधिक समस्याले समग्र बजार र लगानीकर्तामा नकरात्मक असर गर्ने बताउँछिन्।
‘नेप्सेमा जुन किसिमका समस्या र कमजोरी देखिएका छन्, त्यसले बजारमा नकरात्मक असर पार्नु स्वाभाविकै हो। यसले हाम्रो बजार तथा लगानीकर्तामा समस्या ल्याउँछ,’ अध्यक्ष पोखरेलले भनिन्, ‘सरकारी स्वामित्वको संस्थामा यति धेरै कमजोरी देखिनु कसैका लागि पनि राम्रो होइन।’
सरकारी निकाय नै यस्तो अवस्थामा रहेपछि नागरिकले कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठ्ने पोखरेलको भनाइ छ। लगानीकर्ताले यस क्षेत्रमा अर्बौं लगानी गरेका छन्। विश्वासका आधारमा यसबाट केही प्राप्त गर्न सकिन्छ भनेर लाखौंले लगानी गरिरहेको अवस्थामा गोपनीयता भंग हुने, हुँदा सिस्टममै तेस्रो पक्षको पहुँच हुने विषय गम्भीर रहेको उनले दाबी गरिन्।
‘जबसम्म कुनै निकायबीच प्रतिस्पर्धा हुँदैन, तबसम्म स्वच्छता हुँदैन। हिजो नेपाल टेलिकम मात्रै हुँदा र एनसेल नआएको समय रुखमा चढीचढी, डाँडाकान्लामा चढेरै फोन गर्नुपर्ने बाध्यता थियो। त्यो सुधार भएको छ,’ पोखरेलले भनिन्, ‘यसर्थ, स्टकमा पनि प्रतिस्पर्धा आवश्यक छ।’
यद्यपि, पहिल्लो समय नयाँ स्टक ल्याउने विषयमा केही समस्या आएको देखिएको छ। यसलाई धितोपत्र बोर्डले समाधान गर्दै जानुपर्ने सुझाव उनको छ। सानो मुलुक र सानो बजारको विषयभन्दा पनि प्रतिस्पर्धामा जोड दिनुपर्ने उनले बताइन्।
पुरानालाई सुधार्न पनि नयाँ कम्पनी आवश्यक भएको अध्यक्ष पोखरेलको दाबी छ। ‘नयाँ ल्याउनेबित्तिकै राम्रो हुन्छ भन्ने होइन। त्यसका पनि थुप्रै अवगुण आउन सक्छन्। कसरी ल्याउने, के ल्याउने भन्ने विषय महत्त्वपूर्ण हो,’ पोखरेलले भनिन्, ‘तर, चाहिन्छ वा चाहिँदैन भन्नेबारे नयाँ आएपछि मात्रै बजार र स्टकमा देखिएका समस्या समाधान हुन्छन्। हामीले गर्ने भनेको लबिइङ र दबाब दिने मात्रै हो। यसर्थ यसलाई कसरी सुधार्न सकिन्छ र कसरी सुधारका लागि दबाब दिन सकिन्छ भनेर छलफल चलिरहेका छन्।’
स्टक एक्सचेन्जको सूचना प्रविधि प्रणालीलाई जतिसक्दो चाँडो सुधार्नुपर्छ : सरिता अधिकारी
नेपाल स्टक ब्रोकर एसोसिएसनकी उपाध्यक्ष सरिता अधिकारी स्टक एक्सचेञ्जमा देखिएको सूचना प्रविधिसँग सम्बन्धित कमजोरीले बजारमा नराम्रो सन्देश प्रवाह हुने बताउँछिन्।
‘स्टक एक्सचेञ्जको प्रणालीमा अन्य कसैको पहुँच हुने, उसले यहाँको कारोबार हेर्न सक्ने अवस्था निकै गम्भीर हो,’ अधिकारीले भनिन्, ‘यो अवस्थालाई चाँडोभन्दा चाँडो सुधार्न आवश्यक छ।’
उपाध्यक्ष अधिकारी यसले गर्दा साना लगानीकर्ता र सेयर बजारमा प्रवेश गर्न चाहने सबै हतोत्साहित हुन सक्ने औंल्याउँछिन्। नेप्सेमा सीमित व्यक्तिले आफ्नो चाहनाअनुरुप बजार चलाउने गरेका हुन् कि भन्ने आशंका गर्ने ठाउँ अध्ययन प्रतिवेदनपछि बढेको उनको बुझाइ छ।
लगानीकर्ता र बजारमा असर गर्ने यस्तो प्रणाली र गतिविधि सुधारको विकल्प नभएको अधिकारीले स्पष्ट पारिन्। स्टक एक्सचेञ्जको सूचना प्रविधिसँग सम्बन्धित स्थलगत निरीक्षणको प्रतिवेदनले नेप्सेको आइटी सुशासन ढाँचामा कमजोरी रहेको र यसले सञ्चालनको दिगोपना र विश्वसनीयतामा कमी आउने देखाएको छ।
नेप्सेभित्र सूचना प्रविधिसम्बन्धी निर्णय प्रक्रिया निरीक्षण एवं मार्गदर्शनका लागि आवश्यक सुशासन समिति, रणनीति समितिलगायत संरचना अभाव पनि अध्ययनले पहिचान गरेको छ।
महत्त्वपूर्ण सूचना प्रविधि सेवा व्यवस्थापन गर्न तेस्रो पक्ष सेवाप्रदायकमा नेप्सेको अधिक निर्भरताले संस्था परिचालनको स्थिरता र कारोबार सुरक्षामा जोखिम रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
यसबाहेक सूचना प्रविधि पूर्वाधार सञ्चालन गर्न आवश्यक पर्ने महत्त्वपूर्ण सफ्टवेयर र यसका म्यानुअल अपर्याप्त रहेको अध्ययनले देखाएको छ।
प्रतिवेदनका अनुसार यसले प्राविधिक चुनौतीलाई तत्काल समाधान गर्न र अवरोध आए प्रविधि सञ्चालनको निरन्तरता सुनिश्चित गर्न नेप्सेको क्षमतामा बाधा पुर्याउने देखिन्छ। अध्ययनले सरोकारका विषय सम्बोधन गर्न नेप्सेले तत्कालै बलियो सूचना प्रविधि सुशासन ढाँचा स्थापित गर्नुपर्ने र रणनीतिक निर्देशन एवं निरीक्षणका लागि समिति स्थापना आवश्यक रहेको सुझाएको छ।
नेप्सेले आवश्यक्ताअनुरूप आन्तरिक मानव संसाधन योजनाको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको अध्ययन प्रतिवेदले औंल्याएको छ। हाल सञ्चालनमा रहेको कारोबार मिलान प्रणालीको विस्तृत क्षमता परीक्षण गरी हाल दैनिक कारोबारको व्यवस्थापन गर्न सके/नसकेकोबारे यकिन गर्न पनि प्रतिवेदनले सुझाएको छ।