गलकोट (बागलुङ)। बागलुङ उद्योग वाणिज्य संघले चार वर्षपछि गर्न थालेको सातौँ बागलुङ महोत्सवको तयारी पूरा भएको छ। पुस ११ देखि २१ सम्म आयोजना हुने बागलुङ महोत्सव–२०८० को तयारीलाई अन्तिम रुप दिइएको हो।
यसअघि २०७६ मा महोत्सव आयोजना गरिएको थियो। विगतका वर्षमा गरिएका महोत्सवले बागलुङ बजारको व्यापार फस्टाउँदै आएको थियो।
कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुने बताउँदै तयारी अन्तिम चरणमा पुगेको बागलुङ उद्योग वाणिज्य संघ अध्यक्ष नरेश कँडेलले जानकारी दिए।
‘मुख्य मञ्च, स्टल, रमाइलो मेलालगायतको काम सकिएको छ। बागलुङ बजार क्रमशः सिँगारिँदै छ’, कँडेलले भने, ‘राष्ट्रपति रामचन्द्र पौडेल आउने भएपछि विशेष तयारी भएको छ। मेलामा आउन सबैलाई निम्तो।’
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै कँडेलले स्थानीय उत्पादनको छुट्टै स्टल राखिने जनाए।
बागलुङका स्थानीय उत्पादन सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोको पाउडरको प्रवद्र्धन गरिने उनको भनाइ छ।महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्न टेवा पुग्ने अध्यक्ष कँडेलले बताए। महोत्सवमा एक सय २० बढी स्टल रहनेछन्।
महोत्सव करिब सात लाख दर्शकले अवलोकन गर्ने र १० करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।महोत्सव अवसरमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन गरिने संघका महासचिव ऋषिराम गौतमले बताए।
बागलुङ उद्योग वाणिज्य संघको सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकमले बागलुङ उद्योग वाणिज्य संघको सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्य कल्याणकारी कोषमा पाँच लाख जम्मा गर्ने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रावृत्ति कोषमा सहयोग, बागलुङ बजारमा सिसीक्यामेरा जडानमा सहयोग र कोसेली घर सञ्चालनमा ल्याउन सहयोग गर्ने पनि उनले जानकारी दिए।–रासस