काठमाडौं। अर्ना बियर उत्पादक यती ब्रुअरीमा लगानी विस्तार गरिएको छ। आन्तरिक बजारमा चर्चित रहेको अर्नासहितको उत्पादनलाई विदेशी बजारमा समेत दबदबा बढाउने उद्देश्यले यतीले लगानी विस्तार गरेको हो।
ब्रुअरीका महाप्रबन्धक अरुण केसीले उद्योगमा ७० देखि ८० करोड रुपैयाँ लगानी थप गरिएको बताए। नेपालमा राम्रो बजार लिइरहेको अर्ना बियरलाई भारतसहित तेस्रो मुलुकमा निर्यात बढाउन लगानी थप गरिएको उनले जनाए। चितवनको सौराहा नजिकै चयनपुरमा रहेको उद्योगको कुल लगानी करिब ४ अर्ब पुगिसकेको छ।
लगानी विस्तार भएसँगै बियर उत्पादन क्षमतासमेत उद्योगको बढेको छ। यसअघि मासिक २ लाख ५० हजार कार्टुन बियर उत्पादन क्षमता थियो। उद्योगमा लगानी विस्तार गरी मासिक ४ लाख ५० हजार कार्टुन बियर उत्पादन क्षमतामा पुगेको महाप्रबन्धक केसीले जानकारी दिए।
नेपालका दुई व्यापारिक घराना विशाल ग्रप र एभरेष्ट ग्रुपको लगानी रहेको यती ब्रुअरीको स्ट्रङ बियर सेग्मेन्टमा राम्रो होल्ड छ। कम्पनीले अर्नासँगै यती, शिखर, वाइबी, किङफिसर र सेभेन सिन्स ब्रान्डका बियर उत्पादन गर्दै आएको छ।
यती ब्रुअरीले जापान, अस्ट्रेलिया, भारत हित विभिन्न मुलुकमा आफ्ना उत्पादन निर्यात गरिरहेको छ। अर्ना बियरले २०७८ मा बेलायतको लन्डनमा गत मार्च १७ मा आयोजित ‘लन्डन बियर कम्पिटिसन २०२१’ मा नेपालको अर्ना बियरले उपाधि जितेको थियो। अन्तर्राष्ट्रिय क्षेत्रमा उपाधि हासिल गरेपछि अहिले विभिन्न मुलुकबाट बियरको डिमान्ड बढिरहेको छ।
अहिले यतीले आफ्नै बलबुतामा विभिन्न मुलुकमा बियर निर्यात गरिरहेको बताउँदै सरकारले पहलकदमी चालेर सम्झौता गरिदिने भए धेरै बिक्री गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ। विदेशमा महँगो कर तिर्नुपर्ने भएकाले सरकारले रोजगारीका लागि सम्बन्धित मुलुकसँग सम्झौता गरेजस्तै नेपालबाट उत्पादन हुने बियरको लागि बजार खोज्न आवश्यक रहेको उनले बताए।
‘विदेशमा धेरै माग रहे पनि महँगो करका कारण समस्या भोगिरहेकाले यसमा सरकारले तदारुकता देखाएर काम गरे धेरैलाई रोजगारी मात्र हैन, राजस्वसमेत बृद्धि गराउन सकिन्छ’, उनले भने।
नेपालका दुई व्यापारिक घराना विशाल ग्रप र एभरेष्ट ग्रुपको लगानी रहेको यती ब्रुअरीको स्ट्रङ बियर सेग्मेन्टमा राम्रो होल्ड छ। कम्पनीले अर्नासँगै यती, शिखर, वाइबी, किङफिसर र सेभेन सिन्स ब्रान्डका बियर उत्पादन गर्दै आएको छ।
पहिलो ब्रुअरी पब्लिक कम्पनी
यती ब्रुअरी बियर उत्पादन कम्पनीमध्येको पहिलो पब्लिक कम्पनी बनेको छ। उद्योगले कमाएको नाफाको केही हिस्सा सर्वसाधारणलाई समेत दिने उद्देश्यले एक वर्षअघि नै पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ। आवश्यक प्रक्रिया पूरा गरेपछि अबको केही वर्षभित्रै सर्वसाधारणका लागि साधारण सेयर(आइपिओ) जारी गर्ने कम्पनीको तयारी छ।