काठमाडौं। हालसम्म ७ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ मध्ये ७ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन्।
नेप्सेका अनुसार हालसम्म लाभांश घोषणा गर्नेमध्ये मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेका हुन्।
सप्तकोशी विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा डाकेका छन्।
विकास बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुंगाले १०.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशत गरी कुल १०.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो। बैंकले वितरण गर्ने लाभांश साधारणसभाबाट पारित गरिसकेको छ।
यसैगरी सांग्रिलाले ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश, मुक्तिनाथले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेका छन्।
सप्तकोशी विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा डाकेका छन्।
नेप्सेका अनुसार मितेरी डेभलपमेन्ट बैंकले कुल लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत कर प्रयोजनार्थ लाभांश वितरण प्रस्ताव गरेको छ।
यस्तै, गरिमा विकास बैंकले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्र्थ ०.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ। त्यसका लागि पुस २९ मा साधारणसभा बोलाएको छ।
लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न पुस २६ मा साधारणसभा आह्वान गरेको छ। महालक्ष्मी विकास बैंकले ६.४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ।