काठमाडौं। पछिल्लो समय सुस्ताएको घरजग्गा कारोबार उकास्ने उद्देश्यले बैंकहरुबीच कर्जा ब्याजदरमा प्रतिस्पर्धा हुन थालेको छ। बैंकहरुले ग्राहकलाई आफूतिर तान्न होम लोनमा सुलभ ब्याजदरसहितका योजना सार्वजनिक गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंकहरुलाई घरजग्गामा लगानी गर्न खुकुलो नीति बनाएसँगै ब्याजदरमा प्रतिस्पर्धा सुरु भएको हो।
पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम धेरै छ सोही कारण बैंकहरुले आकर्षक नारा दिएर ग्राहक लोभ्याउन थालेका छन्। मुलुकमा जारी आर्थिक मन्दीलाई लक्षित गरी राष्ट्र बैंकले घरजग्गामा गरिने लगानीमा कडाइ गरे पनि केही साताअघिको मौद्रिक नीतिमार्फत त्यसलाई खुकुलो बनाएको छ। त्यसपछि ठप्प रहेको घरजग्गा कारोबार क्रमशः लय समाउने दिशातिर पुगे पनि सुधार भने हुन सकेको छैन।
राष्ट्र बैंकको मौद्रिक नीतिले घरजग्गा कारोबारमा विस्तारै सकरात्मक प्रभाव पार्ने विश्वास नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ)का सचिव रामसुन्दर बकेले व्यक्त गरे। पछिल्लो समय बैंकहरुले घरजग्गाका लागि दिने कर्जाको ब्याज सस्तो बनाउन लागेकाले केही हदसम्म बजार चलायमान संकेता देखिएको हुने उनको धारणा छ।
पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम धेरै छ सोही कारण बैंकहरुले आकर्षक नारा दिएर ग्राहक लोभ्याउन थालेका छन्।
राष्ट्र बैंकले मंसिरमा गरेको अर्धवार्षिक मौद्रिक नीतिको समीक्षामा काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्दा ५० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था गरेको छ। यसअघि उपत्यकामा घरजग्गा खरिदमा बैंकहरुले ३० प्रतिशतसम्म मात्र ऋण दिने गरेका थिए। बैंक तथा वित्तिय संस्थाले ऋण लगानीमा कडाइ गरेसँगै घरजग्गा कारोबार खुम्चिएको थियो।
बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा घरजग्गा खरिद गर्दा दिइने ऋणको ब्याज घटाउँदै जाने हो भने सुस्ताएको कारोबारले गति लिन सक्ने घरजग्गा व्यवसायी शैलेन्द्र खड्का बताउँछन्। अहिले बैंकहरुले ११ प्रतिशतभन्दा मुनिको ब्याजमा ऋण दिन लागेको र त्यसमा पनि निश्चित अवधिभर स्थिर ब्याजदरको कारणले ग्राहक आकर्षित हुन सक्ने उनको विश्वास छ।
बैंकहरुबीच ब्याजमा प्रतिस्पर्धा
राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेसँगै बैंकहरुले सस्तो र आकर्षक ब्याजदरमा ऋण दिने घोषणा गर्न थालेका छन्। बैंकहरुले घरजग्गाका लागि न्यूनतम ९.९९ प्रतिशतसम्म ब्याज दिने घोषणा एकपछि अर्को बैंकहरुले गरिरहेका छन्।
नबिल बैंक लिमिटेडले नबिल ढुक्क घर कर्जाको नाममा सात वर्षसम्मका लागि निश्चित ब्याजदरमा ऋण दिने भएको छ।
ग्लोबल आइमएमई बैंकले पनि स्थिर रेट ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरेको छ। यस्तै सपना साकार गरी भविष्यको आधार बनाउने आफ्नै घर हो सम्पन्नताको आभास दिलाउने नाराका साथ १० वर्षसम्मका लागि १०.४९ प्रतिशतको स्थिर ब्याजदर निर्धारण गरेको छ।
सिद्धार्थ बैंकले महिलाहरुलाई लक्षित गरी नारीकै नाममा घर, आकर्षक ब्याजदर को नारा सहित १०.७४ प्रतिशतमा ऋण दिन सिद्धार्थ हाम्रो घर कर्जा योजना सार्वजनिक गरेको हो।
सपनाको घरलाई दिनुहोस् आकार,सिटिजन्स घरकर्जाले पार्नेछ सपना साकार भन्ने नाराका साथ सिटिजन्स होम लोन सार्वजनिक गरेको छ। १०.९९ प्रतिशतमा स्थिर ब्याजदर ७ वर्षका लागि दिने भएको हो।
घरकर्जासँगै निःशुल्क क्रेडिट कार्ड र डेबिट कार्य सुविधा र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिबत छुट दिने योजना ल्याएको छ।
नेपाल बैंक लिमिटेडले घडेरी कर्जा योजना ल्याएको छ। घडेरी खरिदका लागि कर्जाको भुक्तानी अवधि बढीमा २० वर्षसम्म रहने र सरल प्रक्रिया तथा सुलभ ब्याजदरमा दिने घोषणा गरेको हो।
योसँगै बैंकले सुलभ आवास कर्जा अन्तरगत अब बन्छ मेरो सपनाको घर भन्ने नारासहित आधार दरमा मात्र १.९९ प्रतिशत थप लिने गरी कर्जा दिने भएको हो। उसले घर निर्माण तथा खरिद गर्न र घर निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा दिने जनाएको छ।
एनएमबी बैंकले सुलभ घर कर्जा अन्तरगत सपना साकार गरी भविष्यको आधार बनाउने, आफ्नै घर हो सम्पन्नताको आभास दिलाउने नारा सहित १० वर्ष सम्मलाई १०.४९ प्रतिशतको स्थिर ब्याजदरमा ऋण दिने योजना सार्वजनिक गरेको छ।
एभरेष्ट बैंकले १०.७४ प्रतिशतमा २५ वर्षसम्मका लागि घर कर्जा दिने योजना सार्वजनिक गरेको छ। अन्य बैंकहरुले पनि घरजग्गामा ऋण दिन सुरु गरे पनि हालसम्म आफ्नो ब्याजदर सार्वजनिक भने गरेका छैनन्।