काठमाडौं। डिजिटल प्राथमिक स्वास्थ्य सेवा विस्तार परियोजनाअन्तर्गत रामेछापको लिखु तामाकोसी गाउँपालिकाका सातै वडामा रहेका सामुदायिक स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई नियोनाताल मेडिकल सिम्युलेटर डिभाइस प्रयोगसम्बन्धी प्रशिक्षण दिइएको छ।
स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाका स्वास्थ्यकर्मीको स्तरोन्नति गर्ने उद्देश्यले मेडिकल उपकरण प्रशिक्षण तालिम दिइएको हो।
प्रशिक्षणमा मृत जन्म भएका शिशु तथा नवजात मृत्युलाई सिम्युलेटर उपकरणमार्फत कसरी उपचार गराउने भन्ने सम्बन्धमा जापानी इलिकम कम्पनीद्वारा निर्मित उपकरण प्रयोग गरी जापानी डाक्टरमार्फत प्रशिक्षण दिइएको थियो।स्वास्थ्य मन्त्रालयको संयोकत्वमा स्वास्थ्य विभागमा समेत यो उपकरण प्रयोगसम्बन्धी गोष्ठी आयोजना गरिएको थियो।
परियोजनाअन्तर्गत लिखु तामाकोसी पालिकाको सातै वडामा रहेका विद्यालयमा प्राथमिक उपचारसम्बन्धी स्वास्थ्य शिक्षा तालिम सञ्चालन गर्ने क्रममा सैपुस्थित अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिइसकिएको छ।
स्वास्थ्य शिक्षा कार्यक्रम करिब १८ महिनासम्म सञ्चालन हुनेछ। सोही क्रममा लिखु तामाकोसीका सातै वडामा कार्यरत संस्थाका ७ जना सामुदायिक स्वास्थ्यकर्मीको २ दिने आधारभूत तालिम सम्पन्न भएको संस्थाले जनाएको छ।
मातृ शिशु, गर्भवती महिलाको हेरचाह, दीर्घ रोग तथा दीर्घ रोगीको सुरक्षाका लागि आवश्यक ज्ञान तथा शरीरको तापक्रम नाप्ने विधि, रक्तचाप (ब्लड प्रेसर) मापन विधि, नाडीको दर मापन विधि, श्वासप्रश्वासको दर मापन विधिलगायत आवश्यक प्रशिक्षण दिइएको थियो।
डिजिटल प्रविधि प्रयोग गरी प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले मोबाइल एप्ससम्बन्धी तालिम, सामुदायिक स्वास्थ्यकर्मीलाई स्वास्थ्य सूचना रहेको मोबाइल एप्ससहितको मोबाइल सेट, रक्तचाप नाप्ने उपकरण, तौल नाप्ने उपकरण, थर्मामिटरजस्ता उपकरणसमेत वितरण गरिएको संस्थाले जनाएको छ।
गणेश उज्जन स्मृति प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रममा लिखु तामाकोसीका अध्यक्ष, एनपिओ आशा जापानका अध्यक्ष योशिफुमी निन, प्रोजेक्ट प्रबन्धक ताकाको मोरिता, एलेकम कम्पनीका सिइओ कोता हादासहित १० सदस्यीय जापानी टोली सहभागी थिए।
यो परियोजना लिखु तामाकोसीसँगको समन्वयमा गणेश उज्जन स्मृति प्रतिष्ठानले एनपिओ आशा जापानसँगको सहकार्यमा करिब १८ महिनासम्म सञ्चालन गर्नेछ। त्यसपछि गाउँपालिकलाई हस्तान्तरण गरिनेछ।