काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सुनैना घिमिरे पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित गरेको छ।
काठमाडौंमा आयोजित आइसिटी अवार्ड कार्यक्रममा पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानित गरिएको कम्पनीले बताएको हो।
सूचना प्रविधि क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन्। उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन् र क्यान महासंघको महासचिव र सचिवको पदमा रहेर पनि काम गरिसकेकी छन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी वज्राचार्यले संयुक्त रुपमा पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरेका थिए।
महिलालाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन तथा तिनले यो क्षेत्रमा दिएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) नीतिअनुरुप एनसेलले यो अवार्ड प्रदान गर्दै आएको छ। पुरस्कारको राशी नगद ३ लाख छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘समाजको भविष्य निर्माणमा सूचना प्रविधिको ठूलो महत्त्व छ। अरुका लागि प्रोत्साहन बनेका, प्रविधि र डिजिटल विकासमा योगदान दिने पाण्डेजस्ता महिलाको सम्मान गर्न पाएकामा खुसी छौं।’
यो वर्ष वुमन आइकन आइसिटी अवार्ड विधामा कुल ३४ जना मनोनयनमा परेका थिए। यी मनोनयनबाट सूचना प्रविधि क्षेत्रमा पुर्याएको योगदानका आधारमा तीन चरणको मूल्यांकनपछि ७ महिला छनोटमा परेका थिए। उनीहरुमध्येबाट निर्णायक मण्डलले पाण्डेलाई विजयी छानेका थिए।
प्रत्येक वर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्व, नवप्रवर्तन र संघ–संस्थालाई आइसिटी अवार्ड प्रदान गरिँदै आएको छ।