काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ। आइतबार पालिका अध्यक्ष शंकरराज बरालले भवन शिलान्यास गरेका हुन्।
गाउँपालिका र काठमाडौंस्थित बानेश्वरको निर्माण कम्पनी ‘पाइनस कन्ट्रक्सन प्रालि’ बीच भदौ १२ मा भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। भ्याट बाहेक ६ करोड ११ लाख ११ हजार २५७ रुपैयाँमा भवन निर्माणको सझौता भएको छ।
प्रशासकीय भवनको क्षेत्र ५ रोपनी बढी छ। यद्यपि भवन भने ३७४.५ वर्ग मिटरमा बन्ने छ। ४ तलाको भवनमा ३८ कोठा हुने र वरपर पार्क, चौतारा पनि तयार हुने बताइएको छ। पाइनस कन्ट्रक्सनले २०८२ भदौ १५ मा निर्माण सम्पन्न गर्नुपर्ने पालिकाका इन्जिनियर सुशील शर्माले बताए।
इन्जिनियर शर्माका अनुसार गाउँपालिकाले २०७९ चैत १६ मा भवन निर्माणका लागि ठेक्का आह्वन गरेको थियो। उक्त ठेक्कामा १३ कम्पनीले आवेदन दिएका र ५ कम्पनी प्राविधिक मूल्याङ्कनमा बाहिरिएका थिए।
बाँकी ८ कम्पनीको प्राविधिक मूल्याङ्कन हुँदा पाइनस कन्ट्रक्सनले सबैभन्दा कम मूल्य प्रस्ताव गरेपछि ठेक्का पाएको हो। इन्जिनियर शर्मा भन्छन्, ‘पालिकाले भ्याट बाहेक ७ करोड ६० लाख ३९ हजार १९७ रुपैयाँ लागत अनुमान गरेपनि कम्पनीहरुको प्रतिस्पर्धाले ६ करोड ११ लाख रुपैयाँमा सम्झौता भयो।’
पालिकाका प्रमुख प्रसासकीय अधिकृत ठाकुरप्रसाद दाहालका अनुसार भवन निर्माणका संघीय सरकारले ६० प्रतिशत रकम आर्थिक सहयोग गर्ने र बाँकी ४० प्रतिशत पालिका आफैंले खर्च गर्नेछ।
‘सहरी विकास मन्त्रालय अन्तर्गत्को स्थानीय पूर्वाधार विभाग (डोली) ले काम गर्दै गर्नुस् ६० प्रतिशत रकम दिन्छौं भनेको छ तर, यो वर्ष संघबाट पैसा आएको छैन’ क्यापिटल नेपालसँग अधिकृत दाहालले भने, ‘चालू आर्थिक वर्षमा भवनका लागि पालिकाले मात्रै करिब १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ।’
भवन शिलान्यस गर्दै पालिका अध्यक्ष बरालले गुणस्तरिय कामसहित निर्धारित समयभित्रै भवन तयार गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन्। अधिकृत दाहालका अनुसार पाइनस कन्ट्रक्सनले अन्य ठाउँमा निर्माणको जिम्मावारी लिएर सम्झौताअनुसार काम गरकाले गोलन्जोरमा पनि २०८२ को भदौमा सम्पन्न हुने अपेक्षा पालिकाको छ।
‘आवश्यकताअनुसार बजेट भुक्तानी भएमा व्यवसायीले म्यादभन्दा अघि पनि भवन निर्माण गर्न सक्ने भनेको छ, संघ सरकारले बजेट दियो भने सम्झौता भित्र काम हुन्छ’ अधिकृत दाहालले भने।
देश संघीयतामा गएर स्थानीयतहमा दोस्रो कार्यकाल सुरु हुँदा पनि गोलन्जोर गाउँपालिकाको प्रशासकीय काम कारबाही भाडाको घरबाट सञ्चालन भइरहेको छ। हाल पालिकाको केन्द्र ग्वाल्टारमा १४ कोठाको घरमा मासिक करिब ४२ हजार रुपैयाँ भाडामा लिइ पालिकाले प्रशासकीय काम गरिरहेको छ।
आफ्नै प्रशासकीय भवन निर्माण भएपछि भाडा स्वरुप तिर्दै आएको उक्त रकम पालिकाले अन्यत्र लगानी गर्न पाउनेछ।
भवन शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष बरालसहित उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार), वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) सविता केसी, इन्जिनियरलगायत स्थानीयको उपस्थिति थियो।