काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारद्वारा उद्योगहरूको बिजुलीको लाइन काटिन हुन्थेन भन्ने धारणा व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नतिरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशकनपछि नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको लाइन काटेकोमा आश्चर्य प्रकट गरे।
ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार ‘समृद्धिका लागि संकल्प यात्रा’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनामा पूर्वप्रधानमन्त्री ओलीले प्राधिकरणको पछिल्लो कारबाहीबारे उद्योगहरूले आफूलाई समेत ज्ञापनपत्र दिएको बताए।
ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइन जोडेर पनि भनेजति विद्युत आपूर्ति नदिई प्राधिकरणले महसुलमात्र बढी लिनु सही नभएको धारणा राखे।
‘सरकारले बुझ्नुपर्ने विषय के हो भने उद्योगमा डेडिकेटेड र ट्रंकलाइन जोडेर विद्युत आपूर्ति गरे पनि उपभोग गरेजति विद्युतको मात्र पैसा लिने हो,’ ओलीले भने, ‘अब लाइन चाहिँ जोडेको छ, तर बिजुली आपूर्ति हुँदैन भने पैसामात्र उठाउन त भएन नि।’
पछिल्लोपटक आर्थिक मन्दीले उद्योगी-व्यवसायी मारमा परिरहेको भन्दै एमाले अध्यक्ष ओलीले बेला न कुबेला उद्योगको बिजुली काटेर सरकारले गलत गरेको बताए।
सरकार र उद्योगीबीचको बिजुली विवाद संवादबाट हल गर्न ओलीले सुझाव पनि दिए। उद्योगले उपभोग गरेको बिजुलीको मात्र महसुल लिन पनि उनले सम्बन्धित निकायसँग आग्रह गरे।
प्राधिकरणले आठ वर्षदेखि उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत महँगोमा विद्युत आपूर्ति गर्दै आएको छ। तर, उद्योगीहरूले भने प्राधिकरणले बिनाजानकारी यसरी विद्युत आपूर्ति गरी महँगो शुल्क लिँदै आएको दाबी गरिरहेका छन्।
प्राधिकरणले यसअघि डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत बिजुली खपत गरी महसुल नतिर्ने उद्योगको आपूर्ति बन्द गर्ने चेतावनी दिए पनि प्रधानमन्त्री दाहालको निर्देशनपछि रोकेको थियो।
तर, पछिल्लोपटक फेरि प्रधानमन्त्री दाहालकै निर्देशनमा प्राधिकरणले त्यस्ता उद्योगको बिजुली काटेको छ। त्यसपछि उद्योगी–व्यवसायी विरोधमा उत्रिएका हुन्।