काठमाडौं। खानेपानी मन्त्रालयका सचिव एवं मेलम्ची खानेपानी विकास समिति अध्यक्ष सुरेश आचार्य नेतृत्वको टोलीले सुन्दरीजलस्थित पानी प्रशोधनशालाको निरीक्षण अनुगमन भ्रमण गरेको छ।
भ्रमणका क्रममा मेलम्ची नदीको पानी पथान्तरणका लागि अम्बाथान हेडवक्र्समा हुँदै गरेको मर्मतसम्भार अवधिमा मेलम्चीको सुरुङबाट काठमाडौं उपत्यकाबासीलाई तत्कालै केही मात्रामा खानेपानी उपलब्ध गराउने सकिने/नसकिनेबारे लेखाजोखा गरेको छ।
टोलीले विस्तृत प्राविधिक विश्लेषणपछि आजै करिब १ कराेड लिटर प्रतिदिनका दरले सुरुङबाट काठमाडौंका लागि केही दिनसम्म खानेपानी उपलब्ध गराउन सकिने निष्कर्ष निकालेको छ। सोहीअनुसार सुरुङबाट पानी खोलिएको छ।
यो सुरुङभित्रैको चुहावटबाट जम्मा भएको पानी रहेको मेलम्ची आयोजनाले जनाएको छ! सुरुङभित्र चाहिने अत्यावश्यक प्रेसर खस्किन नदिई पानी निकालिएको हो।
तत्काल सुरूरुङबाट दिन सकिने यो पानीको मात्रा लामो अवधिसम्म दिन सकिने वा नसकिने भन्ने बुझ्न दुई–तीन दिन पानी सञ्चालन गर्दा सुरुङभित्रको प्रेशर चाहिनेभन्दा तल नखस्केर स्थिर रहने वा नरहने कुरामा भर पर्ने बताइएको छ!
सुरुङको अम्बाथान पोर्टलभित्र, ग्याल्थुम अडिट, सिन्धु अडिट र सुन्दरीजल गेट अवस्थित चार स्थानमा जडित पानीको चाप मापक यन्त्रमा नियमित चापको निगरानी गर्दा न्यूनतम रुपमा आवश्यक प्रेसरभन्दा तल खस्किने अवस्थामा सुरुङबाट पानी दिन नसकिने आयोजनाको भनाइ छ।
सुरुङमा क्षति हुनबाट जोगाउन पानी दिन बन्द गरिने र त्यस्तो अवस्था नआउन्जेल दैनिक पानी काठमाडौं पठाइने आयोजनाले बताएको छ।
धाप बाँधबाट प्रतिदिन २ करोड लिटरका दरले आजसम्म ३० करोड लिटर पानी सापटी लिई काठमाडौंमा बितरण गरिसकिएको र थप ३० करोड लिटर पानी सापटी लिन मन्त्रालय र आयोजनाको टिम प्रयासरत रहेको आयोजनाले प्रस्ट पारेको छ।
आजदेखि मेलम्ची आयोजनाको सुरुङबाट दैनिक एक करोड लिटर पानी थप गर्दा दैनिक ३ करोड लिटर राजधानीमा वितरण गर्न सकिनेछ।
अनुगमन टोलीमा सहसचिव तिरेशप्रसाद खत्री, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटालगायत सहभागी थिए।