काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले निर्माण गर्न लागेको १ सय ३५ मेगावाटको मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनामा चीनको निर्यात-आयात (एक्जिम) बैंकले ऋण लगानी गर्ने भएको छ।
आउँदो पुस अन्तिम सातासम्म एक्जिम बैंक, बिपिसी र चिनियाँ कम्पनीबीच ऋण लगानी सम्झौता हुने भएको हो।
यसअघि एक्जिम बैंकले ऋण लगानी गर्ने सैद्धान्तिक सहमति भएको जनाइएको छ। आउँदो जनवरी पहिलो साताभित्र एक्जिम बैंकसँग ऋण सम्झौता हुने मिति तय भएको बिपिसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तरकुमार श्रेष्ठले बताए।
आयोजना निर्माण गर्न ३३ अर्ब ३७ करोड रुपैयाँ (३२ करोड डलर) लागत अनुमान गरिएको छ। २७ अर्ब रुपैयाँ बढी लगानी चीनबाट आउने भएको छ।
कुल ऋण लगानीको ६८ प्रतिशत एक्जिम बैंक र बाँकी निर्माण कम्पनीले व्यवस्थापन गर्ने सिइओ श्रेष्ठले सुनाए। ऋण लगानी व्यवस्थापन चिनियाँ लगानीकर्ताले गरेका छन्। लगानी सम्झौतापछि आयोजना बनाउन निर्माण व्यवसायी आयोजना स्थलमा परिचालन हुने भएको छ।
आयोजनाको प्रवद्र्धक आयोजना मनाङ–मस्र्याङ्दी हाइड्रोपावर प्रालिले निर्माण गर्नेछ। गत वर्ष पुस ३ मा जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालय र निर्माण कम्पनीबीच आयोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको हो। आयोजना २०२३ देखि निर्माण सुरु भई ४० महिनामा सक्ने लक्ष्य छ।
आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न बिपिसीले प्रिमियम मूल्यमा १ करोड कित्ता थप (एफपिओ) निष्कासन गर्ने भएको छ।
इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा बन्नेछ। प्रस्तावित आयोजनाबाट ७६ करोड ६५ लाख ९३ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
आयोजनामा चिनियाँ कम्पनीको ८० र बाँकी २० प्रतिशत बिपिसीको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ।
जलविद्युत्मा लगानी गर्न बिपिसी र ३ वटा चिनियाँ कम्पनीले एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि स्थापना गरेका छन्।
बिपिसीका अतिरिक्त एससीआइजी इन्टरनेसनल, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहनेछ।
नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) भएको छ। सोहीअनुसार सुक्खायामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बखायामको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पिपिए भएको छ।
वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने प्रस्ताव पनि सिफारिस गरिएको छ। आयोजनाको हेड ४ सय ३० मिटर र सुरुङको लम्बाइ ६ किलोमिटर रहनेछ।
चिनियाँ कम्पनीको साझेदारीमा बिपिसीले मस्र्याङ्दी बेसिनमै ३ सय २७ मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ र १ सय ३९ मेगावाटको तल्लो मनाङ–मस्र्याङ्दी आयोजना निर्माणको तयारी गरेको छ।
तीन आयोजनाको क्षमता ६ सय १ मेगावाट छ। तीनवटै आयोजना शृंखला (क्यासकेड) खाकामा निर्माण हुनेछन्।
आयोजना मनाङको नासो र चामे गाउँपालिकामा निर्माण हुने भएको छ। आयोजनाबाट उत्पादित बिजुली मनाङको धारापानीस्थित प्राधिकरणको २ सय २० केभी धारापानी सबस्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भएको छ।
बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन चिनियाँसँग सम्झौता गरेको छ।
होल्डिङ कम्पनीमार्फत आउँदो केही वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ। बिपिसीले ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिसकेको छ।
बिपिसीले साढे ३७ मेगावाटको काबेली–ए आयोजना निर्माण गरिरहेको छ। आयोजनाको ४० प्रतिशत काम सकिएको छ।
आयोजनामा कुमारी बैैंकको अगुवाइमा ऋण लगानी भएको छ।