काठमाडौं। कृषि तथा पशुपछी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानबापत ८० करोड रकम भुक्तानी गरिएको बताएको छ। गत आर्थिक वर्ष २०७९/८० मा किसानलाई भुक्तानी गर्नुपर्ने १ अर्ब ३२ करोडमध्ये चालू आवमा सो रकम भुक्तानी गरिएको हो।
बाँकी ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत दिइसकेकाले सम्बन्धित जिल्लामा निकासापछि कृषकको उपलब्ध विवरणका आधारमा तिनकै खातामा रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले बताए।
सरकारले उखु कृषकको संरक्षण र कृषि व्यवसाय प्रवद्र्धन गर्न हरेक वर्ष उखुको न्यूनतम खरिद मूल्य तोक्दै आएको छ। चालू आवका लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ६५ र सरकारले उपलब्ध गराउने प्रतिक्विन्टल अनुदान रकम ७० निर्धारण गरिएको छ।
बाँकी ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत दिइसकेकाले सम्बन्धित जिल्लामा निकासापछि कृषकको उपलब्ध विवरणका आधारमा तिनकै खातामा रकम भुक्तानी हुनेछ।
विभिन्न उखु उत्पादन हुने जिल्लाका कृषकबाट लिइएको उत्पादन लागत विवरण तथा छिमेकी देशमा तोकिएको खरिद मूल्यलाई समेत विश्लेषण गरी तयार गरिएको प्रतिवेदनका आधारमा कृषि विभागले मूल्य निर्धारणका लागि प्रस्ताव गरेको हो।
उखुको मूल्य निर्धाण कृषि मन्त्रालयको संयोजकत्वमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय किसान आयोग, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका प्रतिनिधि, नेपाल उखु उत्पादन महासंघ, चिनी उत्पादक संघलगायतका सरोकारवालाको सुझावसमेतलाई विश्लेषण गरी तय गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्विन्टल उखुको लागत २० प्रतिशत मुनाफा र ढुवानी लागतसमेत गरी प्रतिक्विन्टल न्यूनतम खरिद मूल्य पाँच सय ६५ सिफारिस गरिएको थियो।