ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरा पुग्ने गरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भएको छ। एक दशकदेखि चर्चामा रहेको पाथीभरा केबलकार निर्माणले अब भने गति लिने भएको छ।आइएमई ग्रुपको ३ अर्ब लगानीमा पाथीभरा केबलकार निर्माण सुरु हुन लागेको हो।
पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोसी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्ने गरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो।
त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानुनी अड्चन भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालालाई सुझाव दिएको थियो।
समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालासँग समेत अन्तरक्रिया गरी राय लिएको र सबैले केबलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएपछि केबलकार निर्माणको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा उक्त केबलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागी सबैले लामो समयदेखि यहाँ केबलकार बन्ने चर्चा मात्र सुनिएको तर काम सुरु नभएको भन्दै निर्माणको काम तत्कालै अघि बढाउन माग गरेका थिए।
उनीहरुले यस प्रदेशकै एक गौरवको आयोजना बन्न सक्ने र ताप्लेजुङका स्थानीयवाले प्रत्यक्ष लाभ लिनसक्ने यस आयोजना तत्कालै अघि बढाउन स्थानीय र प्रदेश सरकारसँग आग्रह पनि गरेका थिए।
अन्तरक्रियामा प्रतिनिधिसभाका सदस्य लीलादेवी बोखिमले आफ्ना घरआँगनमै यति ठूलो लगानीको आयोजना आउँदा स्थानीय नागरिक नै अघि सरेर सघाई आयोजनालाई सफल बनाउनुपर्ने भन्दै केबलकार निर्माणको काममा अब ढिला गर्न नहुने बताइन्।
उनले राज्य आफैंले अर्थात् तीनै तहको सरकारले लगानी गरेर केबलकार परियोजना निर्माण गर्न नसक्ने बताउँदै लगानी गर्न इच्छुक निजी कम्पनीलाई काम गर्ने वातावरणका लागि स्थानीय तयार हुनुपर्ने मात्र नभई आवश्यक सहयोग गर्नुपर्ने धारणा राखिन्।
उनले स्थानीय नागरिकले राखेका मागका सम्बन्धमा लगानीकर्तासँग छलफल हुनुपर्ने त्यसका लागि पनि स्थानीय तहले सहजीकरण गर्नुपर्ने सुझाव दिइन्।
ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताए। उनले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुनेमा जोड दिए।
मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार।
त्यसैगरी फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माण गर्नु जिल्लावासीको हितमा रहेको बताए। व्यक्तिगत स्वार्थ र पुराना सोच राखेर अहिले विकास निर्माणका कामलाई कसैले पनि अवरोध गर्न नहुने उनको भनाइ थियो।
कांग्रेस जिल्ला सभापति गजेन्द्र तम्याङ, नेकपा (माओवादी केन्द्र)का कोसी प्रदेश सदस्य बमबहादुर भट्टराई, फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझालगायतले स्थानीयका माग र सुझाव समेटेर साझा सहमति बनाई आयोजना निर्माणको काममा ढिला गर्न नहुने धारणा राखे।
पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने केबलकार निर्माणको काम सुरु भएपछि १३ महिनाभित्रै परियोजना सम्पन्न गरिसक्ने जानकारी दिए।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालको दाबी थियो।
उनले भने, ‘हामीसँग अनुभव छ, गर्दै पनि आएका छौं। जस्तो, गैँडाकोटको मौलाकालिका र बुटवलको लुम्बिनी केबलकार पनि हामीले निर्माण सुरु गरेको लगभग १३ महिनाभित्रै सञ्चालनमा ल्याएका हौं। यहाँ पनि स्थानीय र सरकारले हामीलाई वातावरण निर्माण गरिदिएको १३ महिनाभित्रै आयोजना सञ्चालनमा ल्याउँछौँ ।’
पाथीभरा केबलकार कोशी प्रदेशकै गौरवको परियोजना भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ ताप्लेजुङबासीलाई हुने भए पनि यो आयोजनाले कोसी प्रदेशलाई नै लाभ पुग्ने उनको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षसमेत रहेका ढकालले स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकासलगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने दाबी गरे।
स्थानीयले उठाएका मागबारे समझदारी गर्न सकिने भन्दै सामाजिक उत्तरदायित्व, परियोजनाको सेयरलगायतका विषय कानुनअनुसार पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए।
केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त संघर्ष समिति संयोजक लिंखिमले लिम्बू समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेर मात्र परियोजना अघि बढाउनुपर्ने बताए।
कस्तो बन्दै छ केबलकार ?
कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्नेछ।
मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए।
मुख्य स्टेसनबाट १० मिनेट २० सेकेन्डमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिनेसमेत पौडेलले जानकारी दिए। केबलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलको भनाइ छ।
केबलकारमा ४५ वटा डब्बा रहनेछन्। केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवद्र्धनका लागि केबलकार लाभदायक बन्ने विश्वास राख्दै यसबाट पहिलो लाभ यहीँका स्थानीयलाई पुग्ने बताए। पाथीभरा केबलकार आइएमई ग्रुपको करिब ३ अर्ब लागतमा निर्माण हुन लागेको हो।–रासस