काठमाडौं। सरकारी अकर्मण्यताका कारण औद्योगिक उत्पादन ३० प्रतिशतमा झरेका बेला फर्जी बक्यौता नतिर्दा नेपाल विद्युत प्राधिकरणले लाइन काटेर उद्योग पूर्ण रुपमा बन्द गराइदिएको छ। नेपाल उद्याेग परिसंघले निकालेकाे तथ्यांक अनुसार अहिले उद्याेगहरू ३० प्रतिशत क्षमतामा चलेका छन्।
व्यावसायिक वातावरण नराम्ररी प्रभावित भइरहेका बेला आन्तरिक उत्पादन बढाउन सरकारले नीतिगत सुधार गर्नुपर्नेमा उल्टै प्राधिकरणलाई लगाएर विजुली काट्न लगाएपछि ४ वटा उद्योग बन्द भएका छन्।
देशभित्र रोजगारी सिर्जना हुन नसकेर मुलुकबाहिर कयौं युवा पुगेको अवस्था छ। आन्तरिक उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न सरकार तल्लिन रहेको बताए पनि व्यवहारबाट पुष्टि हुन सकेको छैन।
विगत लामो समयदेखि व्यवसायी आर्थिक मन्दीको चपेटामा छन्। आन्तरिक अर्थतन्त्र तहसनहस भइरहेका बेला औद्योगिक उत्पादनको माग र खपत बढाएर उत्पादनलाई प्रोत्साहित गर्नुपर्नेमा सयौं जनालाई रोजगारी दिइरहेको उद्योगमाथि प्राधिकरणले ज्यादती मच्चाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कन्भिडेन्समा लिएर उद्योगमाथि अन्याय गरेका छन्। प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो।
रिलाइन्स स्पिनिङ एउटै उद्योगले ४ हजार व्यक्तिलाई रोजगारी दिएको छ। यो नेपालकै सबैभन्दा धेरै रोजगारी प्रदान गर्ने उद्योग हो। यसले बार्षिक रुपमा १० अर्ब रुपैयाँ भन्दा बढीको धागो विदेश निर्यात गर्छ। त्यसैगरी, जगदम्बा स्टिलले पनि आफ्नो उत्पादन विदेशी भूमिमा बेचिरहेको छ। अर्घाखाँची सिमेन्टले गत वर्षदेखि सिमेन्ट निर्यात गरिरहेको छ।