काठमाडौं। हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले प्राथमिक साधारण सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ।
अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा प्रिमियम वापत् १८८ रुपैयाँ थप गरी जम्मा २८८ अंकित दरले ११ लाख २५ हजार कित्ता आइपिओ जारी गर्न बोर्डमा आवेदन दिएको हो।
यो सँगै ह्याम्स अस्पताल धितोपत्र बोर्डमा सूचीकृतका लागि औपचारिक रुपमा आवेदन दिएको स्वास्थ्य क्षेत्रको पहिलो स्वास्थ्य संस्था बनेको छ। आइपिओ निष्कासनका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी बोर्डमा आवेदन दिएको ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए। यसले संस्था र संस्थाको व्यवस्थापकलाई नीति नियमभित्र राखेर अझ जिम्मेवार बनाउने उनको भनाइ छ।
‘सर्वसाधारणको पनि लगानी भएपछि यसले संस्थालाई अझ व्यवस्थित र सिस्टमेटिक बनाउँछ। तोकिएका मापदण्डहरु पनि सबै पूरा गरिन्छ,’ भण्डारीले क्यापिटल नेपालसँग भने, ‘यहि उद्देश्यका साथमा नेपालको इतिहासमा अस्पतालको क्षेत्रमा यो किसिमको व्यापारका लागि हामीले आवेदन दिएका छौं। ह्याम्सलाई फन्ड चाहिएर भन्दा पनि नेपालको स्थास्थ्य क्षेत्रमा यस्तो किसिमको कर्पोरेट कल्चर विकास होस् भन्ने हाम्रो चाहना हो।’
उनले ह्याम्स यो बाटोमा गएपछि अन्य कम्पनीहरु पनि यहि बाटोमा जाने बताए। जसले गर्दा नेपालको स्वास्थ्य क्षेत्रको विकासमा मद्दत पुग्ने भण्डारीको भनाइ छ। ‘पब्लिकसँग जोडिएपछि केही न केही फाइदा हुन्छ र यो क्षेत्रमा राम्रो हुन्छ भनेर यो कदम चालिएको हो,’ भण्डारीले भने, ‘अहिलेको मेरो उद्देश्य पनि यहि हो। यो सात वर्षको समयमा यस पब्लिकतर्फ जाने प्रयासलाई मैले एकदमै सकरात्मक र ठूलो रुपमा लिएको छु।’
भण्डारीले ७३ साल साउन १ बाट अस्पतालको जिम्मेवारी लिएका थिए। अस्पतालले कोरोना महामारीको समयमा पनि राम्रौ उपचार गर्यो। हुनतः अन्य अस्पताल पनि यसमा जाने कुरा चलेको भए पनि आधिकारिक रुपमा भने कुनै गएका छैनन्। ह्याम्स अस्पताललाई गत आर्थिक वर्षको असारमा पब्लिक लिमिटेड बनाइएको थियो।
यसपछि बाँकी सम्पूर्ण प्रक्रिया र सर्तहरु पुरा गरेर आइपिओ निष्कासनका लागि अस्पताल बोर्डमा गएको हो। अस्पतालले आफ्नो १५ प्रतिशत सेयर पब्लिकमा लग्नका लागि क्रेडिट रेटिङ पनि गराइसकेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले आइपिओ निष्काशनका लागि इक्रा एनपि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ।
‘स्वास्थ्यको क्षेत्रमा केही न केही योगदान गरौं भनेर म पब्लिकमा जान लागेको हो। अन्यथा यसमा जानुपर्ने बाध्यता भने कति पनि छैन,’ भण्डारीले भने, ‘हाम्रो तर्फबाट सम्पूर्ण काम भइसकेको छ। अब धितोपत्र बोर्डले के निर्णय गर्छ भन्ने कुरामा भर पर्छ।’
यद्यपि, ह्याम्स अस्पतालको आम्दानी घट्दै गएको भन्ने विषय पनि बाहिरिएको थियो। तर, कोरोनाको पिसिआर जाँच गर्न छोडेपछि आम्दानीमा कमि आएको देखिएको अन्य कुनै असर नपरेको भण्डारी बताउँछ। ‘कोरोना महामारीको समयमा हामीले पिसिआर जाँच गर्ने गथ्र्यौं। तर, पछि पिसिआर गर्नु नपर्ने अवस्था आयो,’ भण्डारीले भने, ‘त्यो बेलामा हाम्रो १२ देखि १५ करोड रुपैयाँसम्मको पिसिआर जाँच हुन्थ्यो। त्यो गर्न छोडेपछि आम्दानी घटेको देखिएको मात्रै हो।’
भण्डारीले अन्यथा आम्दानी वा अन्य अवस्थामा कुनै कमि नआएको बताए। अस्पतालको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर नौ मा मुख्य कार्यालय रहेको यस अस्पताल २०५४ साल मंसिर ४ गते संस्थागत रुपमा दर्ता भएको थियो भने सोही मितिमा कारोबार सञ्चालन अनुमति प्राप्त गरी कारोबार सुरु गरेको थियो।