काठमाडौं। चितवनको नारायणगढमा नवौं संस्करणको नेपाल फर्मा एक्स्पो २०२४ फागुन २५ देखि २७ सम्म हुने भएको छ। चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने एक्स्पोमा पछिल्लो समय विभिन्न किसिमका औषधी उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधि प्रदर्शनीमा राखिनेछ।
एक्स्पोमा नेपालमा औषधी उद्योगको दिगोपन र वृद्धिको अगुवाइलाई मुख्य नारा बनाइएको छ। एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहनेछन् भने नेपाल, भारत, सिंगापुर, बंगलादेशबाट सहभागिता रहनेछ।
प्रत्येक दुई वर्षमा आयोजना गरिने एक्स्पोमा नेपाल औषधी उत्पादक संघको महत्त्वपूर्ण इभेन्टको रुपमा रहेको छ। नेपाल फर्मा एक्स्पो नेपालका औषधी उद्योगलाई अगाडि बढाउन समर्पित रहेको छ।
एक्स्पोमा औषधी उत्पादन र निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने सामग्री, प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल ओईएम, आउटसोर्सिङ, एयर फिल्टर, क्लिन एयर कन्डिसनिङ, औषधी उद्योगका लजिस्टिक तथा अन्य सामग्री एकै छानामुनि प्रदर्शनीमा राखिने आयोजकले बताएका छन्।
एक्स्पोलाई औषधी व्यवस्था विभाग, नेपाल उद्योग परिसंघ), नेपाल उद्योग वाणिज्य महासंघ, फार्मेसी एसोसिएसन अफ नेपाल र नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसनको सहयोग रहेको छ।
नेपाल फर्मा एक्स्पो २०२४ आयोजना गर्न एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि गोल्ड स्पोन्सरको रुपमा रहेका छन्। एक्स्पोमा ३० हजार बढीको उपस्थिति रहने अपेक्षा आयोजकको छ।