काठमाडौं। चौथो पुस्ताको निसान एक्स–ट्रायल नेपाली बजारमा भित्रिएको छ। नेपालमा निसानको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले एक्स–ट्रायलको एल३ भेरिएन्ट नेपाली बजारमा बिक्री सुरु गरेको हो।
फोर ह्विल ड्राइभको यो गाडीले ४ हजार ४ सय आरपिएममा १ सय ६ किलोवाट पावर र २ हजार ४ सय आरपिएममा २ सय ५० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। ई–पावर टेक्नोलोजी रहेको यो गाडीमा पेट्रोल इन्जिन भए पनि इभीको अनुभव पाउन सकिनेछ।
७ सिटर गाडीमा २ सय २० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेकाले नेपालका सडकमा उपयुक्त हुने कम्पनीको दाबी छ। एक्स–ट्रायलमा ५५ लिटर इन्धन क्षमता,सुरक्षाका लागि इबिडीसहितको एबिएस, ब्रेक असिस्ट, इलेक्ट्रोनिक पार्किङ ब्रेक, हिल असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, ब्रेकिङ सिचर्स, सनरुफ, एप्पल कार प्ले, एन्ड्रोइड अटोलगायतका सुविधा छन्।
त्यस्तै, एक्स–ट्रायलमा रियर भ्यू क्यामेरा, रियर पार्किङ सेन्सर, एयर ब्याग, अटो स्पिड कन्ट्रोललगायतमा सुरक्षा फिचर्स दिइएको छ।
कार्यक्रममा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले नेपालमा नयाँ एक्स–ट्रायल ई–पावर, पेट्रोल इन्जिन ब्याकअपयुक्त इलेक्ट्रिक गाडी सार्वजनिक गरिएको बताए। ‘एक्स–ट्रायल ई–पावर ठूलो, आरामदायी र बहुपयोगी एसयूभी चाहने ग्राहकका लागि उत्कृष्ट छनोटका साथै वातावरणमैत्री सवारी साधन पनि हो। यसले मानिसको जीवनलाई मोबिलिटी सोलुसनमार्फत सहज बनाउने अपेक्षा छ’, उनले भने।
निसानको ई–पावर टेक्नोलोजीलाई ग्राहकले विश्वव्यापी रूपमा विश्वास गरेको गरेको निसानको सीबीयू र दक्षिण एसिया व्यापार प्रमुख रघुनाथ नैरले बताए।
‘हामी नेपालमा यो प्रभावकारी, इभी जस्तो ड्राइभ अनुभव प्रदान गर्न सक्षम हुन हुन पाउँदा उत्साहित छौं। हामीले सँधै महसुस गरेका छौं कि ई–पावरको प्रयोग गरेपछि मात्रै यसको क्षमता र विशेषतालाई बुझ्न सकिन्छ,’ उनले भने।
सन् २००१ मा एक्स–ट्रायलको उदयपछि, विश्वभर ७ मिलियन बढी गाडी बिक्री भएका छन्। कम्पनीले नेपालमा भित्र्याएको यो गाडीको मूल्य १ करोड ८७ लाख निर्धारण गरेको छ।