काठमाडौं । नेपाल–भारतबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ढल्केबर—मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन डेढ महिनाभित्र ४०० केभी क्षमतामा चार्ज हुने भएको छ । अहिले प्रसारण लाइनको मुख्य फाउन्डेसनमा ट्रान्सफर्मर जोड्ने काम भइरहेको छ ।
३१५ एमभीए ट्रान्समिसन लाइन जोडिसकिएको र दुइओटा भारतबाटै आउने क्रममा छ । आउने वित्तिकै दुइओटा ट्रान्सफर्मर पनि जोडिने नेपाल विद्युत् प्राधिकरणका कायम मुकायम उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए । त्यस्तै, कन्ट्रोल रुममा वाइरिङ, उपकरण जडान र स्तरोन्तीको कामलाइ पनि तीव्र गतिमा अघि बढाइएको छ । एक महिनामा नेपालतर्फ बन्ने प्रसारण लाइनको मुख्य काम सकिने र त्यसपछि भारतर्फको लाइन जोड्न १०/१५ दिन लाग्ने छ ।
नेपालतर्फ लाइन जडान पूरा भएपछि मात्र भारतको लाइन जोडिनेछ । त्यसका लागि ४/५ दिन लाइन ‘सर्टडाउन’ गरेर लाइन जोडिनेछ । धनुषामा निर्माणधीन उक्त प्रसारण लाइन स्वदेशी लगानीमा निर्माण भइरहेको छ । सरकारले पनि बजेटमार्फत आगामी आर्थिक बर्षभित्र ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेका थियो ।
४००/२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच झन्डै १२०० मेगावाट विद्युत आयात–निर्यात गर्न सकिने चौधरीले बताए । हाल ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन २२० केभीमा लाइन चार्ज भइरहेको छ । उक्त प्रसारण लाइनमार्फत हाल भारतबाट विद्युत् आइरहेको छ । ढल्केबरमा ४००/२२० केभी सबस्टेसनको निर्माण बर्खायाम बचत हुने विद्युत् भारत निर्यात गर्न सकिने छ भने हिउँद वा आवश्यक परेको बेला भारतबाट विद्युत् आयात गर्न सकिनेछ ।
चालू आर्थिक बर्षभित्र ४५६ मेगावाटको माथिल्लो तामाकोसीको सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उक्त जलविद्युत् आयोजना सञ्चालनमा आएपछि नेपालमा विद्युत् बर्खायाममा बढी हुनेछ । विद्युत् पारवाहन र इनर्जी बैकिङ गर्न पनि यो प्रसारण लाइन कोशेढुंगा रहनेछ । ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट ‘पिक आवर’ मा २२० मेगावाटसम्म विद्युत आयात भइरहेको छ । ढल्केबरमा २२०÷१३२ केभी क्षमताको सबस्टेसन पनि सञ्चालनमा छ ।
भारतीय कम्पनी एबीबीले ३१ डिसेम्बर, २०१९ भित्र सवस्टेशन निर्माणका काम सकि लाइन चार्ज गर्ने प्रतिवद्धता जनाएको थियो । तर, उक्त समयसम्म प्रसारण लाइनको काम सक्न निकै चुनौती छ । थप समय दिएर भएपनि डेढ महिनाभित्र प्रसारण लाइन ४०० केभी क्षमतामा चार्ज गर्ने लक्ष्य प्राधिकरणको छ । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो ।
प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००÷२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणको कामलाइ तीव्र रुपमा अघि बढाइरहेको छ ।