काठमाडौं। विगत केही समयदेखि दाना उद्योगीबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ। एकअर्कालाई कसरी सिध्याउने भनेर दाना उद्योगीले डिलरलाई विभिन्न प्रलोभनमा पारिरहेका छन्। एउटा उद्योगको वर्षौसम्म निरन्तर कारोबार गर्दै आइरहेको डिलरलाई खोसेर आफ्नोमा ल्याउन र पुरानोले जोगाउन अनेक तिकडम र उपाय लगाइरहेका छन्।
विश्व बजारमा भटमास, मकै तथा दाना बनाउन आवश्यक पर्ने कच्चा पदार्थको मूल्य ह्वात्तै अकासिएको छ। महँगो मूल्यमा कच्चा पदार्थ किनेर सस्तोमा सामान बजारमा फ्याँकेर रवाफ जमाउन यतिखेर उद्योगीहरू लागेका छन्। नेपालको पोल्ट्री उद्योग विकास गरेर दानाको बजार विस्तार गर्नुपर्नेमा घाटा बेहोरेर दाना डिलरलाई दिने र अर्काको डिलर खोस्न उद्योगीहरू तल्लीन छन्।
खासगरी बजारमा अन्य दाना उद्योगलाई सिध्याएर आफू मात्रै आफ्नो मात्रै एकाधिकार जमाउने पक्षमा उभिएका छन्, प्रदीप रुंगाटा। उनी अहिले नोक्सान बेहोरेर उधारोमा दाना बजारमा फ्याँकिरहेका छन्। प्रतिस्पर्धीलाई सिध्याउन उनले उधारोमा दाना दिने, घाटा बेहोर्ने गरिरहेका छन्।
रुंगाटाको देशभर तीन वटा दाना उद्योग छन्। वीरगञ्ज र विराटनगरमा ओम चाओ विरो र चितवनमा अनमोल फिड छ। रुंगाटाको तीन वटै उद्योगले दैनिक ५ सय टन दाना बनाउन सक्छ। तर, दिनको ३ सय टन मात्रै बिक्री गरिरहेका छन्। यद्यपि, उनले अहिले अर्काको डिलर खोसेर आफ्नो ल्याइरहेका छन्। दाना उद्योगीलाई आफ्नो डिलर जोगाइराख्न ठूलो चुनौती बनेको छ।
अन्तर्राष्ट्रिय बजारमा दानाको कच्चा पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको छ। नेपालको दाना उद्योगको शतप्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुन्छ। महँगो मूल्यमा कच्चा पदार्थ किनेर बनाएको दाना अहिलेसम्म घाटा बेहोरेर चलाउन सकिन्छ?
अहिले प्रतिकेजी मकैको मूल्य ४६ रुपैयाँ पुगिसकेको छ। केही समय अघिसम्म प्रतिकेजी ३६ रुपैयाँ मकैको मूल्य थियो। अहिले केजीमै १० रुपैयाँ मूल्य बढेको अवस्था छ।
त्यसैगरी दानाको अर्को महत्त्वपूर्ण कच्चा पदार्थ भनेको भटमास हो। भटमासको मूल्य पनि अहिले प्रतिकेजी ९८ रुपैयाँ पुगेको छ। यसअघि प्रतिकेजी ८८ रुपैयाँ थियो।
एकातिर कच्चा पदार्थको मूल्य बढ्ने र अर्कोतिर नोक्सान बेहोरेर दाना बजारमा पठाउने होडबाजीमा को सिद्धिने र को वादशाह बन्ने चक्कर चलेको छ।
अहिले भारतमा भटमासको नयाँ पिना आउने सिजन हो। यो बेला पिना सस्तो हुनुपर्ने तर महँगो भएको छ। कारण भारतले नेपालबाहेकका देशमा पिना निर्यात गर्न थालेकाले मूल्य घटेन।
भारतले बंगलादेश, श्रीलंका, भियतनामबाहेक अझ ठूलो परिमाणका पिना इरान पठाउन थाल्यो। भारतले इरानबाट तेल ल्याउने र उसलाई पिना पठाउने गरेको मूल्य अकासिएको व्यवसायीहरू बताउँछन्।
एकातिर कच्चा पदार्थको मूल्य बढ्ने र अर्कोतिर नोक्सान बेहोरेर दाना बजारमा पठाउने होडबाजीमा को सिद्धिने र को वादशाह बन्ने चक्कर चलेको छ।
व्यवसायीका अनुसार अहिले दानाको मूल्य बढाउनुपर्ने बेला छ। तर, ठूला दाना उद्योगी धमाधम घाटा सहेर मूल्य घटाइरहेका छन्। नेपालमा बिपिएच, बी वान, बी टु, बी थ्री दाना उत्पादन हुन्छ।
अहिले बोरामै ३ सय रुपैयाँसम्म दानाको मूल्य घटाइएको छ। औसतमा ५० किलोको बोराको दानाको मूल्य ३ हजार ९ सयदेखि ४ हजार २ सय रुपैयाँसम्म हुन्छ। जसले नगदमा किन्छ, एकै पटक धेरै सामान उठाउन सक्छ, उसले अलि सस्तोमा सामान पाउँछ भने उधारोमा किन्नेलाई महँगो पर्छ।
त्यसैगरी बैंक ऋण नहुनेको दाना संस्तो हुन्छ, भने बैंकबाट ऋण लिएर दाना उद्योग खोल्नेले उत्पादन गरेको दाना महँगो हुन्छ। अहिले व्यवसायीले ३ हजार ६ सयमै पनि दाना बजारमा फ्याँकेका छन्।
घट्दो दाना खपत
अहिले नेपालमा दैनिक २ हजार ७ सय टन दाना खपत हुन्छ। यो पनि घट्दो क्रममा छ। कोभिडअघि दैनिक ३ हजार ५ सय टन दाना खपत हुन्थ्यो। जबकि नेपालको दानाको बजार वार्षिक रुपमा १५ प्रतिशतले बढिरहेको हुन्थ्यो।
अहिले देशभर ११४ वटा दाना उद्योग छन्। दैनिक १२ हजार टन दाना बनाउने क्षमता छ। उद्योगमा ९० अर्ब रुपैयाँ लगानी भइसकेको छ। अहिले धेरै उद्योग बन्द हुने अवस्थामा छन्।
कतिपय उद्योग बिक्री भएर नयाँ व्यवस्थापन भित्रिइसकेको अवस्था छ। चलेकै दाना उद्योग पनि बिक्रीमा छन्। यो बीचमा धेरै उद्योग बन्द भइसकेका हुन्थे। बन्द हुन नसक्नुको कारण बैंकको ऋण हो।
चल्ला निकाल्ने ह्याचरी ३४६ वटामा १४६ वटा बन्द भइसके। ह्याचरीको जग्गा–जमिन पर्याप्त हुने हुँदा त्यो जग्गा बेचेर पनि बैंक ऋण तिर्न पुग्ने भयो, कतिले तिरे। दाना उद्योगसँग धेरै जग्गा हुँदैन। बेचेर बैंक ऋण तिर्न पुग्ने अवस्था छैन। यस्तै अप्ठेरोका कारण धेरै उद्योग बन्द नभएका हुन्।