काठमाडौं। पोखरेली पर्यटन व्यवसायी अंग्रेजी नयाँ वर्ष अवसरमा आयोजना हुने सडक महोत्सवको निम्तो बाँड्न राजधानी काठमाडौं आइपुगेका छन्। नयाँ वर्ष २०२४ लाई लक्षित गर्दै पोखरामा पुस १२ देखि पाँचदिने सडक महोत्सव हुँदै छ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा हुने महोत्सवमा ४–५ लाख पर्यटक भित्र्याउने उद्देश्य रहेको अध्यक्ष नरेश भट्टराईले बताए। लेकसाइडमा हुने महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा बेग्लै पहिचान बनाउन सफल हुने विश्वास उनको छ।
लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा हुने महोत्सव सडक मै खाऔं, सडकमै रमाऔं नारासहित आयोजना गर्न लागिएको हो। महोत्सवमा मुख्य आकर्षणको रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन गरिनेछ।
यस्तै, सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टंग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीका विषय केन्द्रित टक सो कार्यक्रम चलाइनेछ।
भट्टराईका अनुसार स्वदेशी हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतिलगायत कृषि उपज पनि प्रदर्शनीमा राखिनेछ। व्यवसायीले सडक महोत्सवको अवधारणाअनुरुप निर्धारित पसल, व्यवसायको सडकमै स्टल राख्नेछन्।
फिस्टेलगेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्म हुने महोत्सव पर्यटनमैत्री वातावरणमा सम्पन्न गरिने आयोजकको भनाइ छ।