काठमाडौं। पाँच दशकअघि पोखराको एउटा परिवारका दुई भाइको दिमागले एउटा नयाँ ‘आइडिया’ फुरायो– ‘खेती किसानी वा जागिर खाएर उँभो लागिँदैन, व्यवसाय गर्नुपर्छ’।
दाजु बुद्धिबहादुर र भाइ गणेशबहादुरको दिगमागमा फुरेको कुरो केही दिनपछि व्यवहारमा उत्रियो। दुई भाइले मिलेर खोले– ‘लक्ष्मी मिठाई भण्डार’।
यो २०३० साल पुस ५ गतेको शुभसाइतको दिन थियो। पोखरामा सायद पहिलोपटक नै खुल्यो एउटा मिठाई पसल।
त्यो मिठाई पसलले बिस्तारै बजार ओगट्न थाल्यो। पोखरामात्र होइन, आसपासका बजार र गाउँ–गाउँबाट ‘लक्ष्मी मिठाई भण्डार’ मा मिठाई किन्न आउनेको घुइँचो बढ्न थाल्यो।
बिस्तारै एउटा मिठाई पसल पक्का व्यववसायमा रूपान्तरण भयो। मिठाईबाट सुरु भएको व्यापार अन्य क्षेत्रतर्फ पनि मोडियो। अनि, कालान्तरमा बन्यो नेपालकै एक अग्रणी व्यावसायिक घराना– ‘लक्ष्मी ग्रुप’।
लक्ष्मी ग्रुप अहिले दोस्रो पुस्ताले हाँकिरहेको छ। जसको रथलाई चार भाइले एकसाथ कुदाइरहेका छन्। सुनिल, अञ्जन, निरञ्जन र निराकार, यी चार भाइले लक्ष्मी ग्रुपको सबै जिम्मेवारी काँधमा लिएका छन्। चारै भाइ ग्रुपका कार्यकारी निर्देशक हुन्।
उनीहरू सबै ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठको ‘भिजन’ अनुसार अगाडि बढिरहेका हुन्छन्।
०००
उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आज बिहीबार (पुस ५) मा सामाजिक सञ्जाल फेसबुकमार्फत लक्ष्मी ग्रुप ५०औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना बाँडे। शुभकामना बाँडिरहँदा श्रेष्ठ आफैं पनि ५३ वर्ष प्रवेश गरिसकेका छन्। आफ्नो उमेरभन्दा मात्र तीन वर्षपछि स्थापना भएको ‘लक्ष्मी मिठाई भण्डार’ उनीसँगै हुर्किंदै र फक्रिँदै गयो।
मिठाई पसलमा बुबा गणेशबहादुर र ठूलोबुबा बुद्धिबहादुरसँग खेल्दै हुर्किंदै गएका अञ्जनको आफ्नो उमेरमात्र बढेन, व्यवसायलाई पनि रफ्तार दिँदै गए। लक्ष्मी मिठाई भण्डार विस्तार भएर नेपालकै प्रतिष्ठित लक्ष्मी ग्रुप बन्न सफल भयो भने अञ्जन नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बने। उनी महासघंको स्वतः भावी अध्यक्ष हुन्।
बाल्यकालबाट जवान हुँदै परिपक्व बनेका अञ्जनको जस्तै लक्ष्मी ग्रुपको कथा पनि उस्तै छ। ग्रुप अध्यक्ष गणेशबहादुर र उनका दाजु बुद्धिबहादुरले ५० वर्षअघि २०३० साल पुस ५ गते लक्ष्मी मिठाई भण्डार स्थापना गरेका थिए।
‘लक्ष्मी ग्रुपलाई आजको स्थानमा पु¥याउन योगदानका साथै अथक मेहनत गर्नुहुने यस समूहका सम्पूर्ण सञ्चालकज्यूहरू, कर्मचारीहरु तथा कामदारहरु प्रति हार्दिक बधाइ साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय कामना,’ ग्रुपका कार्यकारी निर्देशकसमेत रहेका अञ्जनले भने, ‘देश, समाज र जनसमुदायप्रति हामी सदा समर्पित र सेवारत रहने प्रण गर्दछौं।’
उनले व्यावसायिक साझेदारहरू, व्यावसायिक सहयात्रीहरू, डिलर र विक्रेताहरू तथा उपभोक्ताहरूका साथै सहयोगी एवं शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गरेका छन्। ‘भविष्यमा पनि अझ यहाँहरूको साथ, सहयोग र माया निरन्तर रहने विश्वास लिएका छौं,’ उनले भने।
सुरुवातमा लक्ष्मी मिठाई भण्डारले स्थानीयरूपमा पुष्टकारी उत्पादन गथ्र्यो। यस अन्तरालमा लक्ष्मी ग्रुपले विभिन्न क्षेत्रमा आफूलाई विस्तार गर्दै व्यावसायिक साम्राज्य स्थापना गरिसकेको छ। हाल ग्रुपले मिठाईबाहेक अटोमोबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।
देशभरि ग्रुपको २० भन्दा धेरै कम्पनी छन्, जसमा १ हजार ७ सयभन्दा धेरैले रोजगारी पाएका छन्। सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमाँ इन्टरकन्टिनेन्टल, जयमाँ लक्ष्मी टेक्नो सेन्टरलगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन्। कम्पनीले आगामी दिनमा थप अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना बनाएको अञ्जन बताउँछन्।