काठमाडौं। मोबाइल सेवाप्रदायक एनसेल आजियटा लिमिटेडले सेयर खरिदबिक्री सम्बन्धि सम्झौताको दस्तावेज नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ।
मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई विना स्वीकृत खरिदबिक्री गरेपछि प्राधिकरणले एनसेलसंग जवाफ माग गरेको थियो। प्राधिकरणले खरिदबिक्री सम्बन्धि सम्पूर्ण सम्झौतापत्र पनि माग गरेको थियो।
जसअनुसार एनसेलले सम्झौताको दस्ताबेज बुधबार प्राधिकरणमा बुझाएको हो। यद्यपि, बुझाएको दस्ताबेजमा के छ भन्ने विषय भने अध्ययन गरेर सार्वजनिक गर्ने प्राधिकरणले जनाएको छ।
यसअघि, आजियाटाको बोर्डले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो। यसपछि, यहि मंसिर १३ मा आजियाटाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा उसले एनसेलको सेयर बिक्रीमा राखेको जानकारी गराएको थियो।
लगतै मंसिर १५ मा आजियाटा र बेलायतमा दर्ता भएको सतिशलाल आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूकेबीच सेयर खरिद बिक्री भएको जानकारी आजियाटाले गराएको थियो। स्पेक्ट्रलाइटले एनसेलमा ८० प्रतिशत लगानी रहेको रेनोल्ड्स होल्डिङको शतप्रतिशत सेयर किन्ने सम्झौता भएको भएको आजियाटाले जनाएको थियो।
बिना अनुमति खरिदबिक्री गरेपछि र कर छली तथा सरकारको स्वामित्वमा नआउने दाउ गरेको विषय उठेपछि प्राधिकरणले एनसेलसँग सम्झौतापत्र उपलब्ध गराउन ताकेता नै गरेको थियो।
आजियाटाबाट स्पेक्ट्रलाइटले विभिन्न सर्तसहित कुल ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको उल्लेख गरेको छ।
उक्त समयदेखि यस विषयलाई राज्य व्यवस्था तथा सुशासन समिती, सार्वजनिक लेखा समिति तथा अर्थ समितिले पनि छलफल गरिरहेका छन्। यस्तै, छानबिन गर्न गठित उच्च स्तरिय समितिले पनि काम सुरु गरिसकेको छ।
यस्तै यो विषय सर्वोच्च अदालतमा पनि पुगेको छ। सर्वोच्च अदालतले एनसेल खरिद–बिक्री प्रकरणमाथि दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
आदेशमा पुस १६ मा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल बिक्री शंकास्पद भएको दाबीसहित मंसिर २२ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए।