काठमाडौं। उद्योगी राजेन्द्र राउतले ड्रिम प्रोजेक्टको रुपमा विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण सुरु गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको कोसी प्रदेशका अध्यक्षसमेत रहेका राउतले २ अर्ब ५० करोड रुपैयाँ लगानीमा मोरङको बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा आरआर इन्टरनेसनल हस्पिटल शिलान्यास गरेका हुन्।
आगामी ३ वर्षभित्रमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ शिल्यान्यास गरिएको अस्पतालमा सुरुवाती चरणमा १ सय शय्या रहने र क्रमशः ३ सय शय्यासम्म विस्तार गर्ने लक्ष्य लिइएको उनले बताए।
स्वास्थ्य क्षेत्रमा पहिलो लगानी गरेका राउतले आफ्नो जेठा छोरा प्रतीकलाई व्यवस्थापनको जिम्मेवारी दिएका छन्। ‘छोराको इच्छा पनि स्वास्थ्य क्षेत्रमा केही नयाँ गर्ने रहेकाले लगानी विस्तार गरेको हुँ,’ उद्योगी राउतले क्यापिटल नेपालसँग भने।
अहिले अस्पतालको निर्देशक राउतले प्रोजेक्ट लिड गरिरहेका छन्। ‘स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिन सकिन्छ भनी मानवीय भावनाले पे्ररित भई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले काम अगाडि बढाइएको बताए।
आरआर इन्टरनेसनल अस्पतालको नाममा सुरु हुन लागेको हस्पिटलले जटिल स्वास्थ्य सेवाका निम्ति विदेश र राजधानीका अस्पताल धाउनुपर्ने बाध्यतालाई कम गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको उनको भनाइ छ।
१८ कठ्ठा जग्गामा निर्माण हुन लागेको अस्पताललाई सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गरी सुपरस्पेसियालिटी स्वास्थ्य सेवा दिने केन्द्र बनाउने राउतले बताए।
अस्पतालले मुटु रोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घन्टा आकस्मिक सेवा, क्याथ ल्याबजस्ता सेवा सुविधा उपलब्ध गराउनेछ। अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मिर्गौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नसाको विशिष्टीकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको जनाएको छ।
सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने निर्देशक राउतको भनाइ छ।
को हुन् राजेन्द्र?
शिवम् अर्गनाइजेसनका अध्यक्षसमेत रहेका राउत गार्मेन्ट उद्योगबाट आफ्नो पहिचान बनाएका पूर्वका प्रतिष्ठित उद्योगी हुन्। हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका व्यावसायी राउत जुत्ताचप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ तथा ट्रेडिङ कारोबारमा संलग्न छन्।
उनको साझेदारीमा काठमाडौंको सुकेधारमा पाँचतारे होटलसमेत निर्माणको अन्तिम चरणमा छ।