काठमाडौं। फोर्ड मोटर कम्पनीले भारतको तामिलनाडुस्थित प्लान्ट बेच्ने सम्झौता कार्यान्वयन नगर्ने भएको छ।जानकारका अनुसार कम्पनीले सज्जन जिंदाल नेतृत्वको जेएसडब्लु समूहलाई आफ्नो प्लान्ट बेच्ने योजना अप्रत्यासित रुपमा छाडेको हो।
यो निणर्यले अमेरिकी कम्पनी फोर्ड संसारको तेस्रो ठूलो अटो बजारमा पुनःप्रवेश गर्न लागेको अनुमान गरिएको छ।
‘हामी चेन्नाईमा हाम्रो प्लान्टको विकल्प खोजिरहेका छौं। यसबाहेक हामी केही भन्न सक्दैनौं,’ फोर्ड इन्डियाका सूचना अधिकारीले इमेलमार्फत भने।
यस विषयमा जेएसडब्लु ग्रुपले भने केही प्रतिक्रिया दिएको छैन। बढ्दो घाटा र कोभिड महामारीपछि अटो बजारमा आएको मन्दीका कारण कम्पनीले मरैम नगरस्थित प्लान्ट बन्द गरेको थियो।
जेएसडब्लुले भर्खरै मात्र एसएआईसी मोटरसँगको संयुक्त उद्यममा ३५ प्रतिशत सेयर किन्ने घोषणा गरेको थियो। त्यसका लागि जेएसडब्लुले १० करोड डलरमा फोर्डको प्लान्ट किन्ने अन्तिम तयारी गरेको थियो।
फोर्डको अप्रत्यासित निणर्यले जेएसडब्लुको योजनालाई समस्या पारेको छ। एसएआईसीले एमजी मोटर्स इन्डिया सञ्चालन गर्दै आइरहेको छ।
अन्य दाबी
भारतमा प्रवेश गर्ने तयारी गरिरहेको भियतनामी इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफस्टले पनि उचित प्लान्ट खोजिरहेको थियो। यो कम्पनी पनि फोर्डको प्लान्ट लिने दौडमा रहेको आकलन गरिएको छ।
महिन्द्रा एन्ड महिन्द्राको पनि यस प्लान्टमा चासो देखिएको थियो। तर, पछि खासै वास्ता नगरेको जानकारहरु बताउँछन्।
रणनीतिक रुपमा चेन्नाई बन्दरगाहबाट नजिक रहेको ३ सय ५० एकडमा फैलिएको यो प्लान्टको वार्षिक क्षमता १ लाख ५० हजार कार र ३ लाख ४० हजार इन्जिनको छ। यो प्लान्ट २०२२ को जुलाईमा बन्द भएको हो।
इलेक्ट्रिक सवारीसाधन उत्पादन बढाउन गत जनवरीमा टाटा मोटर्सले आफ्नो सहायक कम्पनी टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडको माध्यमबाट फोर्डको गुजरातस्थित सानन्द प्लान्ट ७ अर्ब २५ करोड ७० लाख भारुमा अधिग्रहण गरेको थियो।
उत्पादन बन्द नगरुन्जेल फोर्डले पछिल्लो १० वर्षमा भारतमा २ अर्ब डलर घाटा बेहोरिसकेको थियो। महामारीपछि भारतीय अटो बजारले फेरि गति लिएर सेल्सको रेकर्ड बनाइरहेको छ। फोर्डले २०२२ को जुलाईसम्म निर्यातका लागि भारतकै प्लान्टबाट इन्जिन बनाइरहेको थियो।
भारतमा उत्पादन बन्द गर्नुअघि आर्थिक वर्ष २०२३ मा फोर्डले गाडी र इन्जिन निर्यातबाट ५ अर्ब ५ करोड भारु नाफा गर्न सफल भएको इकोनोमिक टाइम्सले जनाएको छ।–एजेन्सी