काठमाडौं। विराटनगरका उद्योगी, व्यवसायीले बिमासँग सम्बन्धित समस्या समाधानमा पहल गरिदिन बिमा प्राधिकरण नेतृ्त्वसँग आग्रह गरेका छन्। उद्योग संगठन मोरङ र नेपाल बिमा प्राधिकरणको संयुक्त आयोजनामा सम्पन्न बिमासम्बन्धी छलफलमा उद्योगी, व्यवसायीले यस्तो माग गरेका हुन्।
कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले हाल उद्योग, व्यवसाय क्षेत्र विषम परिस्थितिबाट गुज्रिइरहेकाले विभिन्न बिमाको प्रिमियम शुल्कमा भइरहेको वृद्धिले उपभोक्ता थप मारमा परेको बताए।
उनले प्रिमियम शुल्कलाई उपभोक्तामैत्री वनाउन प्राधिकरणको अग्रसरताका लागि अनुरोध गरे। ‘बिमा कम्पनीले हाल बाढीपहिरो, भूकम्पलगायत धेरै प्रकारका जोखिमलाई एउटै डालोमा हालेर बिमा गर्न बाध्य बनाएका छन्। उपभोक्ता अधिकारलाई ख्याल गरेरर ई आवश्यक शीर्षक मात्र छनोट गर्न दिइनुपर्छ’, उनले भने।
अध्यक्ष सुरानाले लस अफ प्रफिट पोलिसीको व्यवस्था गर्न, ट्रान्जिट इन्स्योरेन्सअन्र्तगत लिइने मेरिन पोलिसी र स्वदेशमा ढुवानीका लागि लिइने पोलिसी दर समान हुँदा यसमा परिवर्तन गर्न उनको आग्रह थियो।
त्यसैगरी कच्चा पदार्थ र मिल मेसिनेरीलाई जोखिम प्रकृतिका आधारमा फरक–फरक वर्गीकरण गरेर प्रिमियम लिने व्यवस्था गर्न र कृषिमा आधारित सबै दाबी भुक्तानीको सरल व्यवस्था गर्न प्राधिकरणको पहल आवश्यक हुने उनले बताए।
छलफलमा बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रिमियम शुल्क संशोधन गर्दा वस्तुको प्रकृतिका आधारमा गरिने भएकाले सबै प्रकारका प्रिमियम शुल्कमा नभई केहीमा मात्रै बढी भएको जानकारी दिए।
यसैगरी बिमामा नछुटुन् भन्ने उद्देश्यले कतिपय पोलिसीलाई एकीकृत गर्नुपरेको, डोमेस्टिक ट्रान्जिटको हकमा भोलुम कम हुनुका साथै प्रोपर्टी र ब्रेक डाउन पोलिसीलाई एकैपटक लिनुपर्दा उपभोक्तालाई प्रिमियम शुल्क बढी पर्न गएको उनको भनाइ थियो।
बिमा कम्पनीमा रि–इन्स्योरेन्य गर्नुपर्दा ग्लोबल कम्पनीका सर्तसमेत पालना गर्नुपर्ने भएकाले कतिपय शीर्षकलाई एउटै बास्केटमा समावेश गर्नुपरेको बताउँदै बिमा कम्पनीलाई समेत सेवा विस्तारमा लाग्न उनले सुझाए।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर प्रिमियम दर संशोधन गर्दै आएको स्पष्ट पारे।
छलफलमा उद्योगी, व्यवसायीले प्राधिकरण अध्यक्षलाई बिमा कम्पनीको सेवा, सर्त नियमन गरी क्लेम सेटलमेन्टका सन्दर्भमा सक्रियता अपनाउन आग्रह गरे।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका कोसी प्रदेश, उद्योग परिसंघ कोसी प्रदेश, विराट व्यापार संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधि, संगठनका पदाधिकारी, पूर्वअध्यक्ष, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीलगायत सहभागी थिए।