काठमाडौं। वरुण इन्भेस्टमेन्ट लिमिटेडले जलविद्युत् आयोजनामा लगानी जुटाउन प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले ४१ मेगावाट क्षमताको संखुवाखोला आयोजना निर्माण गर्न ३० करोड रुपैयाँको आईपीओ निष्कासन गरी लगानी जुटाउन लागेको हो। संखुवाखोला गुराँश हाइड्रो प्रालिमार्फत बन्न लागेको हो।
कम्पनीले यसअघि सानिगाड हाइड्रोले बनाएको अपर ३८.४६ मेगावाटको अपर कलंगाखोला जलविद्युत् आयोजनामा २० करोड २० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी गरिसकेको छ।
यस्तै, कलंगा हाइड्रोले निर्माण गरेको १५ मेगावाटको कलंगागाडमा साढे ९ करोड र भूगोल हाइड्रोले बनाएको १०.७० मेगावाटको अपर सानिगाड आयोजनामा ७ करोड रुपैयाँ इक्विटी लगानी गरेको छ। कम्पनीले यी तीन वटै आयोजनामा ३६ करोड रुपैयाँ लगानी गरेको छ। तीन आयोजनाको जडित क्षमता ६३ मेगावाट छ।
लगानी गरेका सबै जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्। कम्पनी नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनामा लगानी गर्न केन्द्रित छ।
वरुण इन्भेस्टमेन्ट सन् २०१५ मा स्थापना भएको हो। आईपीओ निष्कासन गर्न कम्पनी सन् २०२१ मा पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ।
कम्पनीका लगानीकर्ताको जलविद्युत्का अतिरिक्त पर्यटन, उत्पादन, व्यापार र रियलस्टेट क्षेत्रमा लगानी रहेको छ। वरुणको मुख्य लगानीकर्ता रहेको एसजी ग्रुपमा ५३ प्रतिशत सेयर स्वामित्व छ। ग्रुपको एलपीजी बोटलिङ, जलविद्युत् र निर्माण क्षेत्रमा बलियो उपस्थिति छ।
शिवप्रसाद घिमिरे वरुण र एसजी ग्रुपका अध्यक्ष हुन्। उनको उत्पादन तथा व्यापारमा तीन दशक अनुभव छ। कम्पनीमा घिमिरेको ४६.९८, भोलेश्वर दुलालको ११.२८, प्रमिला दुलालको ७.६० र उमेश ढकालको ६.११ प्रतिशत स्वामित्व छ।
वरुणले गत वर्ष १ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष १० लाख रुपैयाँ मात्र सञ्चालन आम्दानी गरेको थियो।