काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको अस्थायी मर्मत २८ दिन अर्थात् माघ २ मा सकिने भएको छ। मंगलबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले २८ दिनभित्र पुननिर्माण सम्पन्न गर्ने सम्झौता गरेको अयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।
बोर्डका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकले मेलम्ची आयोजना निर्माण कम्पनी सिनोहाइड्रोसँग २८ दिनभित्र पुननिर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको हो।
प्रवक्ता पन्तका अनुसार आपतकालिन अवस्था आइपरे बाहेक निर्माण कम्पनीले २८ दिन अर्थात् माघ २ सम्म पुननिर्माण सम्पन्न गर्नुपर्ने छ। साथै पुननिर्माण छिटो गर्न २ सिफ्टमा काम गर्ने निर्णय पनि मंगलबारको बोर्ड बैठकले गरेको छ।
पुननिर्माणपछि काठमाडौंमा दैनिक १७ करोड लिटर पानी आउने आयोजनाले जनाएको छ। उक्त पानी काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वितरण गर्नेछ।
आयोजनाको अस्थायी पुननिर्माण गरेपछि सुरुङमा पानी हालेर काठमाडौंस्थिति सुन्दरीजलमा आइपुग्न करिब एक साता लाग्छ। त्यसपछि मात्रै उपत्यकामा पानी वितरण सुरु गर्न सकिन्छ।
तर, आयोजनाले मर्मतको काम मात्रै गर्ने भएकाले पानी वितरणको मिति भने तोकेको छैन। काठमाडौंमा पानी आइपुगेपछि केयूकेएलले पानी वितरणको तालिका नै सार्वजनिक गरेर पानी वितरण सुरु गर्छ।
आयोजनाको पुननिर्माण सिनोहाइड्रोले गर्ने भए पनि लागत रकम भने खुलाइएको छैन। यद्यपि कामको भेरियसन (थपिएको कामअनुसार रकम थप) गरेर सिनोले मर्मत गर्ने सहमति गरेको आयोजनाको भनाइ छ।
२०७८ असार १ र साउनमा मेलम्ची खोलामा गएको बाढीका कारण निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा क्षति पुगेको थियो। त्यसयता हरेक वर्ष बर्खामा पानी बन्द गर्ने र हिउँदमा काठमाडौं पानी पठाउने काम भइरहेको छ।
यो वर्ष असार ८ मा बन्द गरेको पानी हालसम्म पनि मर्मत सुरु भएको छैन। यो वर्ष साउन २८ र २९ मा बाढी जाँदा आयोजनाको मुहानस्थित सुरुङ थप पुरिएको तथा पहुँच सडक अवरुद्ध भएको थियो।
मेलम्ची बजारबाट आयोजनाको मुहानसम्म पुग्ने पहुँच सडक भने मर्मत भइसकेको प्रवक्ता पन्तले जानकारी दिए। बुधबारदेखि आयोजना स्थलमा निर्माण कम्पनी सिनोले कामदार परिचालन गर्ने भएको छ।
सचिव आचार्यले खानेपानी मन्त्रालयमा हाजिर भएको दोस्रो दिन नै मेलम्ची मर्मतको निर्णय गरेका हुन्। यस अघिका सचिव रामआधार साहले मेलम्ची मर्मतमा चासो नदिँदा काठमाडौं उपत्यकावासीले मध्य हिउँदमा पनि मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन्।
सचिव साहको कार्य असक्षमताका कारण मंसिर २८ को मन्त्रिपरिषद बैठकले सचिव आचार्यलाई दोहोर्याएर खानेपानी सचिवमा सरुवा गरेको थियो। यद्यपि, सचिव आचार्य सोमबार मात्रै मन्त्रालय हाजिर भएर मंगलबार आफ्नै अध्यक्षतामा बोर्ड बैठक राखेका हुन्। सचिव आचार्यले यसअघि २०७८ माघ २६ देखि २०७९ जेठ १० सम्म खानेपानी सचिवको जिम्मेवारी पुरा गरी सकेका छन्।
बाढीले क्षति पुगेको मेलम्चीको पानी मर्मतमा मन्त्रालय र आयोजना कार्यालयले ढिलाइ गरेको भन्दै उपत्यकाका उपभोक्ताले संघर्ष समिति नै बनाएर काठमाडौंमा आन्दोलन सुरु गरेका छन्। उपभोक्ताको माग तथा आन्दोलनबाट समेत आयोजना र मन्त्रालयलाई अस्थायी मर्मतमा दबाब बढेको छ।