काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा सञ्चालित पसलहरुले सामानको लागत मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा सञ्चालित पसलमा मूल्य निर्धारण गर्न बनाएको उच्चस्तरीय समितिले बनाएको प्रतिवेदनमा सामानमा उल्लेख भएको एमआरपी र सम्बन्धित ठाउँको भाडालाई समायोजन गरेर २० प्रतिशतभन्दा बढी शुल्क निर्धारण गर्न नमिल्ने उल्लेख गरेको छ।
प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाको संयोजकत्वमा बनेको समितिले मंगलबार महानिर्देशक प्रदिप अधिकारीलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा विमानस्थलमा राखिएको पसलहरुको भाडानै अधिक निर्धारण गरिएकोले सामानको मूल्य पनि बढि भएको उल्लेख गरेका छन्।
शुल्क निर्धारण समितिका एक सदस्यका अनुसार विमानस्थलमा पसल सञ्चालन गर्नका लागि गरिएको टेण्डरमा नै उच्च मूल्य राखेर गरिएको कारणले बाहिर भन्दा महंगो भएको निष्कर्ष निकालेका छन्।
बजारको चलनचल्ती भन्दा विमानस्थलको भाडा अत्याधिक महंगो भएकोले पसलहरुले सामानको मूल्य बाहिर भन्दा धेरै बढि भएको देखिन्छ, समितिका ती सदस्यले भने, मन्त्रीज्यूले घटाउन निर्देशन दिनुभयो तर, कार्यान्वयन तहमा भने उहाँले नै निर्णय गरिदिनुपर्ने देखिन्छ।
‘प्राधिकरण सञ्चालक समितिको अध्यक्ष नै पर्यटनमन्त्रीज्यू हुने भएकोले विमानस्थलमा सञ्चालन गरिएको पसलहरुको भाडा सस्तो बनाउन सके सामानमा पनि सस्तो मूल्यमा बेच्न सम्भव देखिन्छ, नत्र अन्य ठाउँको भन्दा केही महंगो नै हुन्छ,’ ती सदस्यले भने।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित पसलहरुको अनुगमन गर्दै सामानमा अधिक मूल्य राखिएको पाइएको भन्दै घटाउन निर्देशन दिएका थिए।
मन्त्री किराँतीले प्राधिकरणलाई विमानस्थलमा सञ्चालित पसलहरुमा राखिएको सामानहरु कसरी सस्तो मूल्यमा दिन सकिन्छ भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बनाएर कार्यान्वयनमा जानसमेत निर्देशन दिएका थिए।
मन्त्री किराँतीको निर्देशन लगत्तै प्राधिकरणले कात्तिक २ गते समिति गठन गरेको थियो। समितिले करिब २ महिना लगाएर प्राधिकरणलाई प्रतिवेदन बुझाएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले मूल्य निर्धारण समितिले महानिर्देशक अधिकारीलाई प्रतिवेदन बुझाएको जानकारी दिए। प्रतिवेदनमा कस्ता कस्ता विषयहरु समावेश गरिएको छ भन्ने जानकारी आफुलाई नभएको बताउदै महानिर्देशकले अध्ययन गरेपछि सार्वजनिक हुने उनको भनाई छ।
खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र बाहिर राखिएको पसलहरुको भाडा करोडौं रुपैयाँ निर्धारण गरिएको छ। जसको कारण सामानमा भाडा र आफ्नो लगानीलाई समायोजन गर्दा बाहिर भन्दा महंगो भएको व्यापारीहरुले बताउदै आएका छन्।