काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्र सामान्य सुधारले नपुुग्ने भएकाले यसको ‘डिपार्चरै’ आवश्यक भएको बताएकी छन्। त्यसका लागि आफूहरु निरन्तर लागिरहेकाले क्रमशः नतिजा आउन सुरु गर्ने उनको दाबी छ।
प्रविधि पत्रकार मञ्चको कार्यसमितिसँग मन्त्रालयमा भएको छलफलमा उनले सूचना प्रविधि क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानुनी र संरचनागत सुधारकै लागि गृहकार्य गरिरहेको जानकारी दिइन्।
‘एकातिर सूचना प्रविधि आज हरेक मानिसको जीवनशैली बन्दै छ भने अर्कोतिर नेपालमै बसेर नेपालीले संसारसँग प्रतिस्पर्धा गर्ने एक मात्र आधार सूचना प्रविधि बन्दै छ,’ मन्त्री शर्माले भनिन्, ‘हामीले नेपालमा स्थापना गरेका अन्य उद्योगधन्दा सूचना प्रविधि क्षेत्रमा गरिएको उत्पादनले सीमाविहीन रुपमा संसारभित्र प्रतिस्पर्धा गर्न सकिने अवस्था बन्दै छ। यो अवसरलाई नीतिगत र संरचनागत रुपमै परिवर्तन आवश्यक छ।’
नेपालमा पहिलो पटक गत साउन २३ मा राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै उनले यसका आधारमा अहिले कानुनको मस्यौदा निर्माण भइरहेको जानकारी दिइन्। डिजिटल नेपाल फ्रेमवर्क बनेको चार वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएको भन्दै त्यसको एउटा अंग डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) प्रोजेक्टको पुनःसंरचनाा अन्तिम चरणमा पुगेको उनले बताइन्।
सरकारले यही वर्ष जारी गरेको फ्रिक्वेन्सी नीति र सम्पत्ति व्यवस्थापन नियमावलीले दूरसञ्चारको क्षेत्रमा डिपार्चर गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्दा डराउनुपर्ने अवस्था नरहेको स्पष्ट गरिन्।
‘मन्त्री होस् वा कर्मचारी दिमागमा राष्ट्र हितलाई काम गरेर अगाडि बढ्ने हो भने कोही पनि डराउनुपर्दैन,’ उनले भनिन् ‘सञ्चार तथा सूचना प्रविधिको क्षेत्र थप संवेदनशील भएकाले पनि धेरै गर्न नसकिएला तर राष्ट्रलाई क्षति हुने गरी कुनै काम हुनुहुन्न भन्नेमा स्पष्ट छौं। यसमा सबै क्षेत्रको सहयोग आवश्यक छ।’
सूचना प्रविधि विकासमार्फत युवालाई देशभित्रै बस्न प्रेरिरत गर्ने गरी केही विशेष कार्यक्रम गर्ने तयारी थालेको पनि मन्त्री शर्माले जानकारी दिइन्। आइटी एक्जिविसन, डिजिटल च्याम्पियन, डिजिटल स्किलजस्ता कार्यक्रममार्फत यो क्षेत्रमा नयाँपन दिने प्रयासमा आफू लागेको उनले स्पष्ट पारिन्।