सर्लाही–चालू यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम भुक्तानी माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन्।
गत वर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल ७० मध्ये हालसम्म प्रतिक्विन्टल २१ मात्रै भुक्तानी भएको र बाँकी प्रतिक्विन्टल ४९ अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ।
साथै, चालू यामका लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गराउनुपर्ने उनीहरुको भनाइ छ। मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरेर गत शनिबारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिए।
उनका अनुसार चालू यामका लागि उखुको मूल्य ७५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदानबापतको प्रतिक्विन्टल ७० मध्ये हालसम्म पनि भुक्तानी हुन बाँकी प्रतिक्विन्टल ४९ रुपैयाँका दरले ५२ करोड रकम तत्काल भुक्तानी गर्नुपर्नेलगायत माग किसानको छ।
नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले चालू यामको उखुको प्रतिक्विन्टल मूल्य निर्धारण नभएको र अनुदानबापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गरे। उनले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेको बताए।
उनका अनुसार उखुको लागत र चिनीको बिक्री मूल्यअनुसार उखुको मूल्य प्रतिक्विन्टल ७५० हुनुपर्ने, गत वर्ष उखु बिक्री गरेको अनुदानबापतको बाँकी ७२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि, अर्थ, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबीच वार्ता गर्नुपर्ने उनीहरुको भनाइ छ।–रासस