काठमाडौं। व्यवसायिक घरना गोल्यान ग्रुपले फेरि अर्को पाँचतारे होटल बनाउने भएको छ। ग्रुपले ४ अर्ब रुपैयाँ लगानीमा बुद्धको जन्मस्थल लुम्बिनीमा वेद होटल सञ्चालनमा ल्याउने भएको हो।
ग्रुपले सन् २०२१ देखि राजधानीमा पाँचतारे स्तरको ह्यात पेलेस होटल सञ्चालनमा ल्याइसकेको छ। वेद ग्रुपको दोस्रो पाँचतारे होटल हो। वेदलाई उच्चस्तरीय मनोरञ्जन र विवाह गन्तव्य (वेडिङ डेस्टिनेसन) पाँचतारे होटलको रूपमा प्रवद्र्धन गर्ने योजना वेद हस्पिटालिटी प्रालिको छ।
लुम्बिनीको मायादेवी गाँउपालिकामा बन्ने पाँचतारे होटल आगामी सन् २०२७ को जुलाइ (असार) देखि सञ्चालन गर्ने लक्ष्य ग्रुपले लिएको छ। होटलका लागि आवश्यक जग्गा खरिदको काम सकिएको विकासकर्ता वेद हस्पिटालिटीले जनाएको छ।
होटलमा २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ ऋण र बाँकी १ अर्ब १ करोड ८० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ। ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजीबाट जुटाउने गरि लगानी संरचना तयार पारिएको छ।
कूल स्वपुँजीको २० प्रतिशत अर्थात २० करोड ६० लाख रुपैयाँ खर्च भएको होटलले जनाएको छ। होटलले ३ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ।
प्रस्तावित होटलमा २ सय कोठा हुनेछन्। होटलमा स्मिङपुल, कन्फरेन्स हल, ब्याँकेट,स्पा, फूड एन्ड बेभरेजलगायत सबै किसिमा अत्याधुनिक सेवाहरु हुने भएको छ। पहिलो चरणमा २ सय अत्याधुनिक कोठाहरुका साथै रेष्टुरेन्ट, स्विमिङ पूल, स्पा, क्यासिनो सञ्चालनमा ल्याउने योजना ग्रुपको छ। त्यसपछि थप पूर्वाधार तयार पारेर अन्य सुविधा थप्ने ग्रुपले जनाएको छ।
ग्रुपको नेपालमा होटलका साथै, जलविद्युत, व्यापार, बैंकिङ, रियलस्टेट, बिमा र टेक्सटाइल क्षेत्रमा ठूलो लगानी छ। होटल ग्रुपका निर्देशक सुरभी गोल्यानले हेर्ने भएकीछिन्। ग्रुपका अध्यक्ष पवन गोल्यान हुन्।
होटलको व्यवस्थापन ह्यात इन्टरनेसनल साउथ वेस्ट एसिया लिमिटेड(एचएमए) ले हेर्ने सम्झौता भएको छ। एचएमएको माउ कम्पनी ह्यात होटल्स कर्पोरेशन हो। होटल ह्यात रिजेन्सी ब्राण्डमा सञ्चालन हुने भएको छ।
ग्रुपले सञ्चालनमा ल्याएको सिटी होटल पनि ह्यातले व्यवस्थापन हेर्र्दै आएको छ। ह्यातको २० वटा प्रिमियर ब्राण्डका साथै ७६ मुलुकहरुमा १ हजार ३ सय होटल रहेका छन्। होटल अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ।
होटल भैरहवा विमानस्थलबाट ८ किलोमिटर दुरीमा छ। होटल भारतको उत्तर प्रदेशको नौतुनवा रेल्वे स्टेशनबाट ३८ किलोमिटर दुरीमा छ। बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै धार्मिक रुपमा परिचित छ। यो क्यासिनोको लागि रुचाइएको स्थान हो
उत्तर प्रदेश र बिहारका छिमेकी भारतीय राज्यहरूमा कडा नियमहरूको साथ भारतीय सीमाना नजिकको गन्तव्य भएकाले यो क्षेत्र नेपालका लागि कर्पोरेट बैठक र विवाह गन्तव्यहरूको लागि पनि आकर्षक विकल्प बनेको छ।
गोल्यान ग्रुप लिमिटेडले वेद हस्पिटालिटीको स्थापना सन् २०२२ को डिसेम्बर २९ मा गरेको हो। होटल २ लाख ९१ हजार ७ सय ९१ स्क्वायर फिट क्षेत्रमा फैलिने छ।
राजधानीमा सञ्चालनमा रहेको ह्यात पेलेस साढे १० रोपनी क्षेत्रफलमा डेढ वर्षअघि सञ्चालनमा आएको ह्यात प्लेस होटल ५ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको थियो।
१४ तलाको होटलमा १ सय ५३ कोठा छन्। लक्जरी तथा बिजनेसमा वर्गीकरण गरी सबैलाई मिल्ने गरी कोठाको इन्टेरियर डिजाइन गरिएको छ।