काठमाडौं। खानेपानी मन्त्रालयमा ७ महिनामै सचिव फेरिएका छन्। खानेपानी मन्त्री महिन्द्रराय यादवले जेठ २९ मा तत्कालीन सचिव मणिराम गेलालाई सरुवा गरेर सचिव रामआधार साहलाई मन्त्रालयमा भित्र्याएका थिए।
बजेट बनिसकेको र बर्खा सुरु भएका बेला खानेपानी मन्त्रालय आएका सचिव साहलाई केही महिना कामको चाप परेन। तर, मन्त्रालयअन्तर्गतको राष्ट्रिय गौरवको आयोजना ‘मेलम्ची खानेपानी’ अस्थायी मर्मत गर्ने समय सुरु भएपछि भने उनीमाथि चुनौती बढेको थियो।
यद्यपि सचिव साहको कार्यक्षमता तथा काम गर्ने शैलीमा तदारुकता नदेखिएपछि ७ महिनामै खानेपानी मन्त्रालय छाड्नुपरेको त्यहीँका अन्य कर्मचारी बताउँछन्। उनीहरुका अनुसार सचिव साहकै कारण काठमाडौं उपत्यकाबासीले यो वर्षको आदि हिउँद सकिन लाग्दासमेत मेलम्चीको पानी उपभोग गर्न सकेका छैनन्।
‘मन्त्रालयको सचिवमा दोहोरिएर सुरेश सर आउनुभएको छ। २/३ दिनमै मेलम्चीको विषयमा राम्रो निर्णय आउँछ। साह सरले केही काम नगरेर हामीले गाली खायौं,’ ती कर्मचारीले क्यापिटल नेपालसँग भने, ‘उपत्यकाबासीले आन्दोलन सुरु गरेपछि मन्त्रीले सुझाव माग्दा सचिव फेर्नुपर्छ भनेका थियौं। सोहीअनुसार सचिव फेरिएको हो।’
मेलम्ची खानेपानी विकास बोर्ड अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था छ। सचिव साहले आफैं अध्यक्ष रहेको बोर्डबाट समेत मेलम्ची मर्मतका लागि निर्णय नगरेको मन्त्रालय स्रोतको दाबी छ। सोही कारण मन्त्री यादवले सचिव साहलाई हटाउन बाध्य भएका हुन्।
मंसिर २८ को मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्रालयको सचिव परिवर्तन गरेको हो। खानेपानी सचिवमा दोहोरिएर सुरेश आचार्य आएका छन्। सचिव आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रबाट खानेपानीमा सरुवा भएका हुन्। सचिव साहलाई खानेपानी मन्त्रालयबाट सतर्कता केन्द्र लगिएको छ। सचिवद्वयको जिम्मेवारी हेरफेर गरिएको हो।
यस्तो छ सचिव आचार्यको विगत
२०७७ मंसिर १० मा पर्यटन मन्त्रालयको सहसचिव हुँदा आचार्य सचिवमा बढुवा भएका थिए। सचिवमा बढुवा भएसँगै तत्कालीन पुनः निर्माण प्राधिकरणमा सचिवको भूमिका वहन गरेका उनले नेपाल ट्रस्टको कार्यालयमा समेत सचिव भए।
त्यसपछि आचार्यले केही समय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत सचिव भएर काम गरे। सचिव आचार्य यसअघि २०७८ माघ २४ मा शिक्षाबाट खानेपानी मन्त्रालय सरुवा भएका थिए। त्यो बेला करिब साढ ४ महिना अर्थात् २०७९ जेठ १० सम्म खानेपानी मन्त्रालयमा सचिव थिए।
२०७९ जेठ १० मा खानेपानीबाट सरुवा भएर प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालय हुँदै राष्ट्रिय सतर्कता केन्द्र पुगेका सचिव आचार्य फेरि २०८० मंसिर २८ मा खानेपानीमै दोहोरिएका हुन्। बिहीबार सरुवा भए पनि सचिव आचार्यले सोमबार मात्रै मन्त्रालयमा कार्यभार सम्हालेका छन्।
यसो भन्छन् सचिव आचार्य
खानेपानी मन्त्रालमा सचिवको जिम्मेवारी सम्हालेलगत्तै आचार्यले मंगलबार बेलुका मेलम्ची खानेपानीको बोर्ड बैठक बस्ने जानकारी दिए। उक्त बैठकमा चिनियाँ निर्माण व्यवसायी सिनो हाइड्रोपावर पनि सहभागी हुनेछ। सिनोलाई एक महिनाभित्र काठमाडौंमा पानी पठाउने गरी काम गर्न आग्रह गरिने सचिव आचार्यले बताए।
क्यापिटल नेपालसँग उनले भने, ‘२८ दिनभित्र पानी पथान्तरण हुने गरी काम अगाडि बढाउन आग्रह गर्ने योजना छ। तर, सिनो हाइड्रोको प्रतिक्रिया के आउँछ, बेलुकीको बोर्ड बैठकपछि मात्रै थाहा हुन्छ।’
खानेपानीमा सचिव आचार्यका चुनौती
सचिव आचार्यलाई दोहोर्याएर खानेपानी मन्त्रालयमा सरुवा गराउनुको मुख्य कारण मेलम्चीको अस्थायी मर्मत तत्कालै गर्नु हो। मेलम्ची अस्थायी मर्मतका लागि बोर्डबाट निर्णय गर्नु उनको मुख्य काम हुनेछ। त्यस्तै, मेलम्ची खानेपानी आयोजना निर्माण गरेको चिनियाँ कम्पनी सिनो हाइड्रोपावरलाई विगतमा गरेको कामको भुक्तानी दिनुपर्नेछ। सिनोसँग आयोजनाको ठेक्का सम्झौताको म्याद यही डिसेम्बर अर्थात् पुस १५ सम्म छ।
खानेपानी आयोजनाका अनुसार सिनो हाइड्रोपावरले एकपटक निर्माण सम्पन्न गरेको ठाउँमा पटक–पटक पुनःनिर्माण गर्न आनकानी गरेको छ। सम्झौताअनुसारको म्याद सकिन लाग्दासमेत फेरि अस्थायी मर्मतको काम सुरु नहुँदा निर्माण कम्पनीले सजिलै काम गर्ने सम्भावना देखिन्न।
मेलम्ची आयोजनाले कति रकम सिनो हाइड्रोलाई भुक्तानी गर्नुपर्ने प्रस्ट पारेको छैन। आयोजनासँग पैसा भए पनि भुक्तानीका लागि निर्णय गर्ने मान्छे नहुँदा रोकिएको हो। अस्थायी मर्मतका लागि पनि धेरै रकम आवश्यक नपर्ने आयोजनाको भनाइ छ।
यद्यपि हालसम्म क्षतिको मूल्यांकन नभएकाले यकिन विवरण आउन बाँकी रहेको बताइन्छ। त्यसबाहेक एसियाली विकास बैंक (एडिबी) ले गरेको भौगर्भिक अध्ययनको रिपोर्ट अध्ययन तथा कार्यान्वयनका पक्षमा पनि काम गर्नुपर्नेछ।