काठमाडौं। सोमबार लघुवित्त कम्पनीको सेयरमा उछाल आउँदा जलविद्युत कम्पनीमा भने पहिरो गएको छ। साताको दोस्रो दिन ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ।
सकारात्मक उच्च मूल्यवृद्धि हुने कम्पनीमा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट नेपाल छन्।
उता, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा जलविद्युतको बिगबिगी छ। सोमबार हिमालयन पावर पार्टनर, डोल्टी पावर कम्पनी, अपर सान्जेन हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ।
सोमबार लघुवित्त क्षेत्रको सेयर मूल्य सबैभन्दा बढी ५.५३ प्रतिशतले बढ्दा जलविद्युत क्षेत्रको सेयरमूल्य ०.३३ प्रतिशतले घटेको छ। यस्तै होटल तथा पर्यटन कम्पनीको सेयर मूल्य ३.२५, इन्भेस्टमेन्टको ३.१०, बैंकिङको २.०५ र विकास बैंक क्षेत्रको १.८० प्रतिशतले बढेको छ।
सोमबार कारोबार पनि करिब एक वर्षयताकै उच्च भएको छ। आज कुल ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि गत वर्ष २०७९ पुस २६ गते ७ अर्ब ६५ करोड ८८ लाख २३ हजारको कारोबार भएको थियो।
यसो त, गत सातादेखि नै कारोबार रकममा उछाल आइरहेको छ। आइतबार भने कुल ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको थियो।
सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.१४ अंकले वृद्धि भएको छ। यस दिन नेप्से ३८.१४ अंक अर्थात १.८८ प्रतिशतले वृद्धि भएर २ हजार ६०.४९ बिन्दु कायम भएको छ।
अघिल्लो दिन आइतबार भने नेप्से १.३९ प्रतिशत अर्थात २७.७५ अंकले बढेर २ हजार २२.३५ बिन्दुमा कायम भएको थियो।
आज कारोबार भएकामध्ये १ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर छ।