काठमाडौं। बिवाइडीको डल्फिनले युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप-२०२४’ अवार्ड जितेको छ। यो अवार्ड युरोपभरि बिक्री हुने कारमध्ये उत्कृष्टलाई ‘अटोबेस्ट’ ले प्रदान गर्दै आएको छ।
उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रडक्टलाई उछिन्न सफल भएको हो। प्रतिस्पर्धाकाे दोस्रो स्थानमा हुन्डाईकाे कोना र तेस्रो स्थानमा जिपको एभेन्जर परेका थिए।
अस्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो। त्यसका लागि युरोपभरिका ३१ देशबाट आएका अटोबेस्ट पत्रकारले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन्।
उनीहरूले डल्फिनलाई फिचर लोडेड क्याबिन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरीय प्रविधि प्रयोग भएको पर्फेक्ट कारको संज्ञा दिएका थिए। त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्री प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ। त्यसैले डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भएको छ।
अटोबेस्टका जुरीले पहिलोपटक कुनै पनि बिवाइडीको मोडेललाई ‘बेस् बाई कार अफ युरोप-२०२४' को अवार्ड दिएको हो।
बिवाइडी डल्फिनले बजार आएदेखि नै उत्कृष्ट पर्फर्मेन्स दिएको अटोबेस्टका अध्यक्ष भान भार्डीले बताए।
‘हामीले दशककै सन्तुलित अटोबेस्ट प्रतिस्पर्धा गराएका छौं। यसमा डल्फिनले एक विद्युतीय साधनका रूपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ,’ उनले भने।
मूल्य र गुणस्तर
जुरीहरूले डल्फिनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायिता र ड्राइभिङ प्लेजर मुख्य आधार बनाएका थिए। सानो साइजमा धेरै स्पेस पाउन सकिने भएका कारण यसले संसारभरि जो कोहीलाई लोभ्याइरहेको छ। अर्को, यसको मूल्य पनि विश्वभरि नै सबैलाई आश्चर्यचकित बनाउने खालको छ।
नेपालमा डल्फिनको मूल्य ३९ लाख ८० हजार रुपैयाँ छ। जुन सेग्मेन्टमा डल्फिन उपलब्ध छ, त्यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धी नै नभएको कम्पनीको दाबी छ। यसका साथै, बिवाइडीको ई–प्लेटफर्म ३.० को जुरीहरूले प्रशंसा गरेका थिए।
सुरक्षित र फराकिलो
युरो एनक्यापले गरेको क्र्या टेस्टमा ५ स्टार रेटिङ पाउन सफल डल्फिन ३.० इ–प्लेटफर्म र ड्रागन फेस डिजाइनका कारण क्याबिनमा प्रसस्त स्थान भएको कार हो। ह्याचब्याक सेग्मेन्टमा उपलब्ध डल्फिनको लम्बाइ ४ हजार २ सय ९० मिलिमिटर, चौडाइ छेउमा ऐना फोल्ड गरेको ठाँउसम्म २ हजार १२ मिलिमिटर छ।
डल्फिनमा २ हजार ७ सय एमएम लामो ह्विलबेस दिइएको छ। यसमा ३ सय ४५ लिटर क्षमताको बुट स्पेस दिइएको छ। अन्तर्राष्ट्रिय स्पेकमा ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ। नेपालमा भने ५१ किलोवाट आवरको ब्याट्रीमा डल्फिन उपलब्ध छ।
ब्लेड ब्याट्री
बिवाइडीको आफ्नै उत्पादन ब्लेड ब्याट्रीबाट सुसज्जित भएकाले यसको टिकाउपन, सुरक्षा र पर्फर्मेन्स सबै उत्कृष्ट छ। यो ब्याट्री कोबाल्ट, म्यानेजेज र निकेलरहित छ। यसमा लिथियम आइरन फस्फेट (एलएफपी) को प्रयोग गरिएको छ।
यो पुरस्कार आफ्ना लागि निकै गर्वको करा भएको बिवाइडी युरोपका प्रबन्ध निर्देशक मिचेल साउले बताए। ‘यहि पेसामा रहेका जुरीको निर्णयबाट पाएको अवार्डले नयाँ गाडी किन्न चाहने ग्राहकको ध्यान तान्नेमा म विस्वस्त छु। यसले हामीलाई नयाँ प्रडक्ट अझ उत्कृष्ट र कम मूल्यको ल्याउन प्रेरित गरेको छ,’ उनले भने।
अटोबेस्ट प्रमुख भान भार्डीले बिवाइडीका उत्पादन परिष्कृत हुँदै गएको प्रमाण यो अवार्ड भएको प्रतिक्रिया दिए। जुरीले निर्णय दिइसके पनि यसको आधिकारिक घोषणा लक्जेम्बर्गमा आयोजना हुन गइरहेको २३ औं अटोबेस्ट गालामा गरिने छ।