काठमाडौं। निजी लगानीमा राजधानीको ठमेलमा अर्को चारतारे होटल सञ्चालनमा आउने भएको छ। ९३ करोड ६० लाख रुपैयाँ लगानीमा निर्माणाधीन आर्या होटल एन्ड स्पा आगामी असार (जुन) देखि सञ्चालनमा आउने भएको हो।
होटलमा बैंकको ७० करोड २० लाख ऋण र आर्या ग्रुपको २३ करोड ४० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी रहेको छ। आर्यामा २५ प्रतिशत संस्थापक र बाँकी ७५ प्रतिशत बैक ऋण हुने गरी लगानी संरचना तयार पारिएको छ।
अहिलेसम्म ४४ करोड ९० लाख रुपैयाँको वित्तीय व्यवस्थापन भइसकेको आर्याले जनाएको छ। १८ करोड २० लाख रुपैयाँ संस्थापकबाट स्वपुँजी लगानी भइसकेको छ। अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति र ६७ प्रतिशत वित्तीय प्रगति भएको होटलले जनाएको छ।
चारतारे आर्याको अत्याधुनिक सुविधासहितको ८० वटा कोठा बन्ने छ। जसमा फुड एन्ड बेभरेज, स्विमिङ पुल, कन्फरेन्स हल, हिटेड ज्याकुजी र स्पालगायत सम्पूर्ण सुविधा होटलमा हुनेछ। होटलका एकमात्र प्रवर्द्क कृष्णप्रसाद सिम्खडा हुन्।
उनीसँग आतिथ्य व्यवसायमा २० वर्षभन्दा बढीको अनुभव छ। उनले ग्रिसा अटो, अटो पार्क जापान, एभरेस्ट फुड (जापानको चेन रेस्टुरेन्ट) सञ्चालन गरिरहेका छन्। सिम्खडा आर्यका संस्थापक अध्यक्ष पनि हुन्। उनीसँग जापानमा १४ वटा चेन रेस्टुरेन्ट छन्।
सिम्खडाको पर्यटन क्षेत्रमा लामो अनुभवका साथै अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग स्थापित नेटवर्क भएकाले होटलको अन्तर्राष्ट्रिय बजारमा पहुँच राम्रो हुने देखिएको छ। जसले गर्दा होटलको आम्दानी बढाउने सम्भावना छ। होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर दुरीमा छ।
होटल आर्या सन् २०१८ अक्टाेबरमा स्थापना भएको हो। होटल ६ सय १४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। होटलले ७५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।