काठमाडौं। सार्वजनिक निजी साझेदारीमा सञ्चालित बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले अंकित मूल्यमा थप सार्वजनिक निष्कासन (एफपिओ) ल्याउने भएको छ।
कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँको एफपिओ ल्याउने प्रस्ताव पारित गरेको बिपिसीले जनाएको छ। उक्त रकम विभिन्न नयाँ जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने बिपिसीले जनाएको छ।
एफपिओ निष्कासन गर्न आउँदो पुस २९ मा हुने साधारणसभामा पेस गर्ने तयारी भएको छ। साधारणसभाबाट पारित भएपछि कम्पनीले एफपिओ निष्कासन प्रक्रिया अघि बढाउने भएको छ।
यस्तै कम्पनीले गत आर्थिक वर्ष गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि समितिले पारित गरेको छ। बिपिसीले चिनियाँ कम्पनीहरूसँगको साझेदारीमा ७ सय ८४ मेगावाट क्षमताका आधा दर्जन आयोजना बनाउने तयारी गरेको छ।
बिपिसीले ३ सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी २, १ सय ३५ मेगावाटको मनाङ मर्स्याङ्दी, १ सय ४० मेगावाटको तल्लो मर्स्याङ्दी र ८ मेगावाटको चिनो खोला आयोजना बनाउँदै छ।
यी आयोजना सन् २०२६ को पहिलो त्रैमासभित्र सक्ने लक्ष्य रहेको बिपिसीले जनाएको छ। बिपिसीले १ सय ७४ मेगावाटको सम्भाव्यता अध्ययन गरिरहेको छ।
आयोजनामा लगानी गर्न बिपिसी र तीन चिनियाँ कम्पनीले एससिआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन गरिसकेका छन्।
एससिआइजीमा बिपिसीको १९.५ र बाँकी ७९.५ प्रतिशत चिनियाँको स्वामित्व छ। आयोजना हिमताल हाइड्रोपावर कम्पनीले निर्माण गर्ने छ।
एससिआइजीमा बिपिसीबाहेक एससिआइजी इन्टरनेसनल लिमिटेड, जिचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआइइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी छ।
बिपिसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन सम्झौता गरेको छ। बिपिसीले ३० मेगावाटको ङ्यादी आयोजना, १२ मेगावाट झिम्रुक, तीन मेगावाट खुदी र ९ मेगावाट आँधिखोला आयोजनाबाट बिजुली उत्पादन गरिरहेको छ।
मर्स्याङ्दी करिडोरमा चिनियाँसँग मिलेर बनाउन लागेको ६ सय १ मेगावाटका ३ आयोजनाको अनुमानित लागत १ अर्ब २० करोड डलर छ।आयोजनाहरूमा २० प्रतिशत स्वपुँजी (इक्विटी) र ८० प्रतिशत ऋण लगानी हुनेछ।