काठमाडौं। सरकारले लिएको नीतिका कारण ‘एफपिओ’ को ‘प्रिमियम’ र मर्जरको ‘बार्गेन पर्चेज’ गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँबराबर कर राज्यकोषमा दाखिला भएको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र शनिबार दिउँसो ४ बजेसम्म उक्त रकम राज्यकोषमा दाखिला भएको हो। कर दाखिला गर्ने समय शनिबार मध्यरात १२ बजेसम्म रहेको छ। आजसम्म दाखिला गर्नेले जरिवाना छुट पाउने व्यवस्था रहेको छ।
महालेखापरीक्षकको कार्यालयले २०७७ सालमा सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनदेखि लगातार एफपिओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर छली भएको भन्दै असुल गर्न सरकारलाई निर्देशन दिँदै आएको थियो।
अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले महालेखापरीक्षकको प्रतिवेदनले उठाएका विषय बेवास्ता गर्दै आएका थिए।
महालेखाको ६०औं प्रतिवेदनमा सरकारले कर उठाउनुपर्ने विषय उठाइएको छ। महालेखाले लगातार चार प्रतिवेदनमा कर उठाउनुपर्ने विषय उठाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले एफपिओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा मंसिर मसान्तसम्म कर तिरे जरिवाना शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गरेका थिए।
सरकारले समयमै निर्णय नदिएकाले अर्बौं रकम शुल्क र जरिवानाको दायित्वमा परेका सङ्गठित संस्थालाई छुट दिने घोषणा अर्थमन्त्री महतले आर्थिक ऐनमार्फत गरेका थिए।
शुल्क र जरिवानामा छुट दिने निर्णय गर्दा संविधानविपरीत सरकारले कर लगाउन खोजेको भन्दै अर्थमन्त्रीको निणर्यविरुद्ध १६ वाणिज्य बैंक सर्वोच्च अदालत पुगेका थिए।
पूर्वअर्थमन्त्रीले कुनै निर्णय नगर्दा राज्यले गुमाएको अर्बौं राजस्व अर्थमन्त्री महतको निर्णयले राज्यकोषमा आउन लागेको छ। अर्थमन्त्री महतले छुट दिने निर्णय नगरेर विगतका अर्थमन्त्रीजस्तै मौन बसेको भए संवैधानिक निकायले प्रश्न उठाउने र सरकारले नटेर्ने प्रवृत्ति बढ्दै जाने थियो। अर्थमन्त्री महतले संवैधानिक आयोगले उठाएको विषयलाई महत्त्वसाथ समाधान गर्दै राज्यकोषमा अर्बौं रकम जम्मा गरेका छन्।
अर्थमन्त्री महतले नै विभिन्न सार्वजनिक कार्यक्रममा संवैधानिक निकायले प्रश्न उठाएपछि सरकारले कर लिने नीति लिएको बताउँदै आएका थिए।
मन्त्री महतले बजेट संशोधन गरेर ‘ब्याक’ हुने सम्भावना नरहेको र बैंकरहरूलाई अदालत जान सार्वजनिकरूपमै सुझाव दिँदै आएका थिए।
गत बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो।
उक्त रिट सर्वोच्चले खारेज गरेसँगै आर्थिक ऐनमार्फत छुट दिने अर्थमन्त्री महतको निणर्य कानुनबमोजिम भएको ठहर भएको छ।