काठमाडौं। काठमाडौं चोभारस्थित मञ्जुश्री पार्कमा ‘क्यानोपी जिपलाइन’ सञ्चालनमा आएको छ। तीन चरणमा खेल्न पाइने जिपलाइनको लम्बाइ करिब ४ सय मिटर छ। सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ।
जिपलाइन खेल्दा पहिलो चरणलाई ‘एड्भेन्च’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामकरण गरिएको छ।
नेपाली चलचित्र अभिनेत्री वर्षा राउतले शनिबार जिपलाइन उद्घाटन गरिन्। उनले तीन चरणको जिपलाइनमा अन्यत्रभन्दा फरक र रोचक अनुभव लिएको बताइन्।
जिपलाइनका क्रममा मञ्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलविनायक मन्दिर, चोभार गुम्बा, नवनिर्मित सुक्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरि डाँडा, काठमाडौं तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिने छ। टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ।
जेबी एड्भेन्चर प्रालिले पर्यटन विभाग र स्थानीय तहसँग स्वीकृति लिएपछि जिपलाइन सञ्चालनमा ल्याइएको कम्पनीका निर्देशक पञ्चलाल महर्जनले जानकारी दिए।
दैनिक ३ सयदेखि ३ सय ५० जनासम्मले जिपलाइन खेल्न सक्छन्। जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुने उनको भनाइ छ। १ सय किलोसम्म शारीरिक तौल भएकाले जिपलाइन खेल्न मिल्ने महर्जनले जानकारी दिए।
कति लाग्छ शुल्क?
कम्पनीले जिपलाइनको पूरै प्याकेज केही समयका लागि १ हजार २ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउने छ। तर, पूरै नगरेर एक स्टेपमात्रै जिपलाइन गर्ने हो भने ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्ने छ।
टेन्डम (जोडी) जिपलाइनको आनन्द १ हजार ५ सय रुपैयाँमै लिन सकिन्छ। विद्यार्थी (परिचयपत्रसहित) र कीर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन्।
कसरी पुग्ने?
ललितपुर एकान्तकुनाबाट मेडिसिटी हस्पिटल हुँदै २ किलोमिटर दुरीमा मन्जुश्री पार्क पुग्न सकिन्छ। सार्वजनिक सवारीमा जाँदा रत्नपार्क वा लगनखेलबाट दक्षिणकाली जाने गाडीमा जान सकिन्छ। रिङरोड बल्खुबाट जान पायक पर्नेले सिधै बल्खु गएर ३ किलोमिटर दक्षिण जाँदा पनि पुगिन्छ। बल्खुबाट सार्वजनिक सवारी सहजै पाइन्छ।
एड्भेन्चर हब बनाउने भावी योजना
कम्पनीले चोभारमा एडभेन्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ। जिपलाइन पनि सोहीअन्तर्गतको परियोजना भएको महर्जन बताउँछन्।
‘हामीले जिपलाइन सञ्चालन गरिसकेपछि क्रमशः अन्य गतिविधि पनि लन्च गर्छौं। जसका लागि तयारी भइरहेको छ,’ उनले भने, ‘यो ठाउँलाई एडभेन्चर हब बनाउने हाम्रो लक्ष्य हो।’
कम्पनीले चोभारमा ग्लास ब्रिजमा बन्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेन्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरु गर्ने महर्जनले बताए।