वासिङटन। अमेरिकामा घरबारविहीन हुनेको संख्या यो वर्ष कीर्तिमानी स्तरमा पुगेको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ।
अमेरिकी आवास तथा सहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभरि ६ लाख ५३ हजार १ सयभन्दा बढी मानिस घरबारविहीन भएका छन्।
यो संख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६ सय ५० अर्थात १२ प्रतिशत बढी हो र २००७ मा तथ्यांक संकलन सुरु भएयताकै सबैभन्दा बढी हो।
अफ्रिकी अमेरिकीहरू कुल अमेरिकी जनसंख्याको १३ प्रतिशत छन् तर घरबारविहीन भएकामध्ये ३७ प्रतिशत अफ्रिकी अमेरिकीहरू रहेका छन्।
२०२२ देखि २०२३ बीचमा पहिलो भाषाका रूपमा स्पेनी भाषा प्रयोग गर्ने भनेर पहिचान गर्ने व्यक्तिमा घरबारविहीन हुनेको संख्यामा २८ प्रतिशत अर्थात ३९ हजार १ सय ६ जनाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१२ देखि नै घरबारविहीन अवस्थामा रहेका बालबालिकाको संख्या पनि १६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
जनवरीमा घरबारविहीन भएका ६ लाख ५३ हजार १ सयमध्ये हरेक १० जनामा ६ जना आश्रयस्थल वा अन्य अस्थायी आवासमा थिए भने १० मध्ये ४ जना मानव बस्तीका लागि नबनेको ठाउँमा थिए।
क्यालिफोर्नियामा सबैभन्दा धेरै १ लाख ८१ हजार ३ सय ९९, न्युयोर्कमा १ लाख ३ हजार २ सय, फ्लोरिडामा ३० हजार ७ सय ५६, वासिङटनमा २८ हजार ३६, टेक्सासमा २७ हजार ३ सय ७७ र ओरेगनमा २० हजार १ सय ४२ जना घरबारविहीन छन्।
विशेषज्ञहरूका अनुसार अमेरिकामा घरबारविहीनताको संकटटलाई गरिबी, मानसिक स्वास्थ्य, लत र आवासको अभावलगायत धेरै कारकहरूले बढावा दिइरहेको छ।