काठमाडौं। दक्षिण एसियाली देशका ऊर्जा विज्ञहरूले सामूहिक सहकार्य हुन सके यस क्षेत्रको ऊर्जा माग पूरा गर्न सकिने र ऊर्जा सुरक्षा थप बलियो हुने धारणा राखेका छन्।
उनीहरूले आ-आफ्ना देशमा उत्पादित, जल ऊर्जा, सौर्य ऊर्जा, वायु ऊर्जा, कोइला, प्राकृतिक ऊर्जादेखि आणविक ऊर्जासम्मको उत्पादन र उपलब्धतालाई सहज अन्तरदेशीय हिसाबमा आयात-निर्यात गर्न सके दक्षिण एसियाली देशहरू ऊर्जा अभावबाट उम्किन सक्ने तथा समग्र ऊर्जा क्षेत्रको सुरक्षामा उल्लेख्य सहयोग पुग्ने पनि बताए।
फ्रेडरिक न्युमन स्टिफटङ फाउन्डेसन फर फ्रिडम साउथ एसियाले समृद्धि फाउन्डेसनको सहकार्यमा शुक्रबार साँझ आयोजना गरेको ‘दक्षिण एसियामा ऊर्जा संक्रमण र ऊर्जा सुरक्षा’ विषयक वेबिनारमा सहभागी नेपाल, भारत, बंगलादेश, भुटान, जर्मनीलगायतका ऊर्जा विज्ञहरूले खुलेर आ-आफ्ना विचार व्यक्त गरे।
वेबिनारमा नेपालका तर्फबाट सहभागी नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालमा खपतपछि खेर जाने विद्युत भारतबाहके बंगलादेश, भुटानलगायत दक्षिण एसियाली मुलकमा निर्यात गर्न सोचेजति सहज नभएको धारणा राखे।
‘नेपाल अहिले विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुगेको छ। अब यहाँ खपत भएर खेर जाने बिजुली भारतमा केही परिमाणमा बेचिरहेका छौं,’ शाक्यले भने, ‘तर, भारतका केही अप्ठेरा नीतिका कारण हामीले सहजै बंगलादेश, भुटान वा अन्य दक्षिण एसियाली देशमा बिजुली बेच्न सकिरहेका छैनौं।’
नेपालमा विद्युत उत्पादनका लागि लगानी गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई १० वर्षसम्म कर मिनाहा गरिएपछि ऊर्जा क्षेत्रमा सकारात्मक सन्देश प्रवहा भएको शाक्यले बताए।
‘भारतले सहयोग र सहकार्य गर्ने हो भने अन्तरदेशीय प्रशारण लाइन विस्तार गर्न, सबस्टेसनहरू मर्मत गर्न सजिलो हुन्छ,’ शाक्यले थपे, ‘त्यसो हुन सके भारतमा मात्र नभई बंगलादेश, भुटानसहित अन्य देशमा बिजुली निर्यात गर्न हामीलाई धेरै नै सहज हुनेछ।’
शाक्यका अनुसार नेपालले भारतबाहेक छिमेकी देशलाई विद्युत बेच्न ‘रोड ब्लक’ जस्तै अवस्था रहेको छ। ‘हामीले भारतको अनुमतिबिना बंगलादेश वा भुटानलाई विद्युत बेच्नै सक्दैनौं,’ उनले भने, ‘भारतले सहयोग नगरेसम्म नेपालमा उत्पादित बिजुली अन्य देशमा निर्यात गर्न त्यति सहज छैन।’
देशभित्रै ऊर्जा खपत वृद्धि गरी पेट्रोलियम पदार्थ विस्थापित गर्न, विद्युतीय सवारीसाधन, विद्युतीय घरायसी सामग्री प्रयोगमा सरकारले जोड दिँदै आएको उनको भनाइ छ।
‘नेपालमा अहिले वार्षिक विद्युत माग १५ प्रतिशतका दरले बढिरहेको छ। तर, हामीलाई विद्युत निर्यात गर्न गुणस्तरीय ग्रिड सञ्चान र आपूर्ति भरपर्दो बनाउनुपर्ने चुनौती भने यथावत छ,’ उनले भने, ‘सरकार र निजी क्षेत्र यसका लागि मिलेर काम गरिरहेको अवस्था छ।’
उनका अनुसार ऊर्जा विकास र सुरक्षामा नेपाल दक्षिण एसियाली देशसँग सधैं हातेमालो गर्न तयार छ। नेपालमा हाल २ हजार ८ सय मेगावाटहाराहारी विद्युत उत्पादन भइरहेको छ। त्यसबाहके ८ हजार मेगावाटको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ। ३ हजार मेगावाट उत्पादन चरणमा छन्।
‘नेपालमा वायु ऊर्जामा खासै सम्भावना वा काम नभए पनि सौर्य ऊर्जातर्फ भने ३० हजार मेगावाटसम्मको क्षमता रहेको देखिएको छ,’ पूर्वकार्यकारी निर्देशक शाक्यले भने, ‘त्यसमध्ये १० हजार मेगावाट उत्पादन गर्न सकिने सम्भाव्यता देखिएको छ।’
वेबिनारमा भारतको सेन्टर फर रिसोर्सेस म्यानेजमेन्ट अब्जर्भर रिसर्च फाउन्डेसन प्रमुख लिडिया पोवेलले रुस-युक्रेन युद्ध सुरु भएपछि मात्रै संसारभरिका देशले ऊर्जा सुरक्षामा बढी ध्यान दिन थालेको बताइन्।
‘अब भारत अन्य ऊर्जाभन्दा नवीकरणीय ऊर्जामा बढी केन्द्रित हुँदै गएको छ,’ पोवेलले भनिन्, ‘भारतले सकेसम्म आफ्नै उत्पादनले आन्तरिक खपत पूरा गर्ने गरी ऊर्जा क्षेत्रमा काम गरिरहेको छ। तर, त्यसो भन्दैमा छिमेकी देशहरूसँग ऊर्जा सुरक्षा र कारोबारै नगर्ने भन्ने होइन। भारत सबैसँग सहकार्य गर्न तयार छ।’
उनका अनुसार भारतले हाल कुल खपतको ४५ प्रतिशत जलविद्युत, ४४ प्रतिशत कोइला ऊर्जा र बाँकी आणविक, सौर्य, वायु,लगायत प्राकृतिक ऊर्जाबाट माग पूरा गरिरहेको छ।
‘भारतलाई आगामी सन् २०५० सम्ममा ठूलो परिमाणमा ऊजा आवश्यक पर्ने छ र यसको ठूलो परिमाण निजी क्षेत्रले आपूर्ति गर्ने निश्चित छ,’ उनले भनिन्, ‘भारतले भुटानबाट राम्रो परिमाणमा जलविद्युत आयात गरिरहेको छ। त्यस्तै नेपालबाट थोरै परिमाणमा किनिरहेको छ। अन्य देशबाट आयात गर्न खोजे पनि पर्याप्त ट्रान्समिसन लाइन नहुँदा समस्या छ।’
त्यसैगरी बंगलादेशको इन्स्टिच्युट फर इनर्जी इकोनोमिक्स एन्ड फाइनान्स एनालाइसिसका प्रमुख ऊर्जा विश्लेषक सफिकल आलमले रुस-युक्रेन युद्धपछि ऊर्जा आपूर्तिमा विश्वभरि समस्या उत्पन्न भइरहेको बताए।
बंगलादेशको कुल ऊर्जा खपतमा ५० प्रतिशत प्राकृतिक ग्यासको हिस्सा रहेको उनले जानकारी दिए। त्यसैगरी १० प्रतिशत विद्युत भारतको आयात भइरहेको उनको भनाइ छ।
‘हामी प्राकृतिक ग्यासमा निर्भर छौं। कोरोना महामारी र युक्रेन युद्धपछि सरकारले कोइला पावर प्लान्ट बन्द गरेको छ,’ आलमले भने, ‘ऊर्जा माग पूरा गर्न सन् २०४० भित्र नवीकरणीय ऊर्जाको हिस्सा ४० प्रतिशत पुर्याउने सरकारको लक्ष्य छ।’
उनका अनुसार पछिल्लो चार महिनामा एलएनजी ग्यासको भाउ पनि तीनपटक बढिसकेको छ। बंगलादेशमा वायु र सौर्यतर्फ १ हजार मेगावाटको सम्भावना रहेको र ३० मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ।
भारतसँग विद्युत आयातका लागि धेरे सम्झौता भएको र नेपालसँग पनि सम्झौता भएको उनले बताए। भारतसँग हालै १ हजार १ सय ६० मेगावाटको विद्युत खरिद सम्झौता भएको र भारत झारखण्डको एक निजी कम्पनीसँग १ हजार ५ सय मेगावाट खरिद सम्झौता भएको उनले जानकारी दिए।
‘बंगलादेशमा कुल जडित क्षमताको ३० देखि ३४ प्रतिशत ऊर्जा जाडो याममा खपत हुने गरेको छ र गर्मी महिनामा भने १५ देखि २० प्रतिशतसम्म बढी माग हुने गरेको छ,’ उनले भने, ‘ऊर्जाको बढ्दो माग र ऊर्जा सुरक्षाबीच दक्षिण एयिाली देशबीच राम्रो सहकार्यको खाँचो छ।’
त्यसैगरी जर्मनीका संघीय सांसद तथा ऊर्जा विज्ञ टोर्टेम हर्ब्स्टले अधिकांश युरोपेली देशले रुसबाट सस्तोमा ऊर्जा आयात गरिरहेको जानकारी दिए। जर्मनीले भविष्यमा नवीकरणीय ऊर्जा र आणविक ऊर्जामा काम गरिरहेको उनको भनाइ छ।
‘संसारको सबै जनसंख्यालाई समान हिसाबमा ऊर्जा वितरण गर्न ठूला देशले सहकार्य गर्नैपर्छ,’ उनले भने, ‘दक्षिण एसियाली देशले पनि सहकार्य गर्दामात्र ऊर्जा वितरण र ऊर्जा सुरक्षामा बलियो हिसाबको काम हुने देखिन्छ।’
त्यस्तै जर्मनीका अर्थविद तथा ऊर्जाविज्ञ म्याक्सिमिलियन लुज राइनहार्डले आणविक ऊर्जातर्फ विकसित देशमा माग धेरै नै उच्च रहको बताए।
दक्षिण एसियाली देशले जलविद्युत, सौर्य र वायु र नवीकरणीय ऊर्जामा बढी ध्यान दिँदा त्यस क्षेत्रको ऊर्जा माग पूरा गर्न र ऊर्जा सुरक्षा विकास गर्न उल्लेख्य मद्दत पुग्ने सुझाव दिए।
‘चीन एउटा ठूलो ऊर्जा उत्पादक र खपतकर्ता देश हो। अन्य दक्षिण एसियाली देशले चीन र सँगै भारतसँग सहकार्य गर्दा ऊर्जा खाडल पुर्न सहयोग पुग्ने देखिन्छ,’ उनले भने।
त्यसैगरी समृद्धि फाउन्डेसनका संस्थापक तथा अनुसन्धान निर्देशक अर्पिता नेपालले नेपालले जलविद्युतसँगै सौर्य र बायो ऊर्जामा पनि जोड दिइरहेको बताइन्।
दक्षिण एसियामा ऊर्जा विकास, उत्पादन, सहकार्य, ऊर्जा सुरक्षा, माग, आपूर्ति, सरकारका रणनीतिलगायत विषयमा विस्तृत जानकारी आदान प्रदान गर्न वेबिनार आयोजना गरिएको उनले जानकारी दिइन्।