भरतपुर। चितवन पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्।यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्।
चिउरी बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ। रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा २ सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन्।
‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौं,’, उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यहीँ राखिन्छ।’ उनले मौसमले साथ दिए दुईपटकसम्म चिउरीको मह काढ्ने बताए।
चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेको किसान थापाले बताए। ‘२०५६ सालदेखि मौरी पाल्दै आएको छु,’ उनले भने, ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थान गइरहनुपर्छ।’
उनले मौरी चरन क्षेत्र र महको बजारीकरण समस्या रहेको बताए। चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने उनको अनुभव छ।
मौसम अनुकूल भए एक वर्षमा चारपटक मह काढिने थापाले बताए। ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ,’ उनले भने, ‘जिन्दगीको सबैभन्दा आनन्द यही हो।’
कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ। यहाँ यो सिजनमा मात्रै झन्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासंघ पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए।
उनका अनुसार यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन्।
जङ्गली फूलमा विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो। चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरू देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउँछन्।
उनका अनुसार नेपालमा सेरेना र मेलिफेरा मौरीपालन हुने गरेको छ। व्यावसायिकरूपमा भने मेलिफेरा पालिन्छ। चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ ५ सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन्।