दाङ। बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसो परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहक प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारु महिला।
तुलसीपुर बजारका चोक–चोकमा किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहक प्रतीक्षामा भेटिन्छन्। चिसो सडकमा ग्राहक पर्खाइमा बस्नेमध्येकी एक हुन् तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी।
उनी व्यावसायिक काउली र आलुखेती गरेर आत्मनिर्भर छिन्। ‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो। यसबाटै जीवन गुजारा भएको छ। कृषिकर्मबाट राम्रो आम्दानी भएको छ,’ उनी भन्छिन्।
गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले पैदल त कहिले अटो चढेर आउने रामकुमारी पनि सडकमा कृषि उपज बेचेर आत्मनिर्भर भएकी छिन्। दैनिक गर्जो टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उनको कृषि आम्दानीले थेगेको छ।
पाँच कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक २ देखि साढे २ लाखसम्म बचत गर्दै आएको सुनाइन्। बचत रकमबाट नै उनले मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आएकी छिन्।
त्यस्तै ५३ वर्षीया आश्मानी चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा सक्रिय राखेकी छिन्। १५ कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेँडा फलाउने उनी धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउँछिन्। उनले गत वर्ष ३ लाख आम्दानी गरेको बताइन्।
तुलसीपुर–१६ की ४० वर्षीया राजपति चौधरी पनि १२ कट्ठा जमिनमा व्यावसायिक सागसब्जी लगाएर आत्मनिर्भर बनेकी छिन्। उनले वार्षिक साढे ३ लाखसम्म आम्दानी हुने गरेको बताइन्। सागपात बेचेर नै उनले आफ्ना दुई छोराछोरीलाई कृषि प्राविधिक पढाएकी छिन्।
परिश्रमअनुसार पर्याप्त प्रतिफल प्राप्त हुने कृषिकर्ममा नै आफ्ना सन्तानलाई लगाउने आफ्नो सोच रहेको उनले बताइन्।