प्रविधिले अहिले विश्वबजार नै खुम्चिएको छ। एकै ठाउँ बसेर प्रविधिमार्फत विश्वका सबै ठाउँलाई एकै क्लिकमा नियाल्न सकिन्छ। भौगोलिकरूपमा नेपाल विकट भए पनि यहाँको सुन्दरताले धेरैको मन लोभ्याइरहेको हुन्छ।
दन्तलहर टल्काएर सधैं मुस्कुराउने हिमालदेखि पहाडको बीचमा सुसेली हाल्दै बहने नदीहरू देख्दा जोकोहीको पनि मन बहकिन्छ। र, नदीको सुसेली र कञ्चन ती झरनाहरूमा लहराउँदै कोइली चरीको कुहुकुहु आवाजमा मन्त्रमुग्ध हुँदै यात्रा गर्दाको आनन्द कहीँ पनि मिल्दैन।
विश्वमा नभएका प्राकृतिक सुन्दरता नेपाली भूभागमा रहेकाले यसको भिडियो बनाएर ग्लोबल मार्केटमा प्रचार गर्ने उत्सुकताले मलाई सानैदेखि डोहोर्याउने गरेको थियो। सुदूरपश्चिम डोटीको समाजमा हुर्के बढेकाले यस क्षेत्रको प्राकृतिक र सांस्कृतिक विविधता मलाई निकै मन पथ्र्यो। उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएसँगै सन् २०१२ देखि गैरसरकारी संस्थामा आबद्ध भएर नेपालका विभिन्न गाउँठाउँ घुम्ने र बुझ्ने अवसर मिल्यो।
जागिरको जिम्मेवारीले नेपाली गाउँघर अनि समाज बुझ्ने अवसर मिलेसँगै बिस्तारै आफूले देखेका गाउँ, समाज अनि त्यहाँका प्राकृतिक सुन्दरता र संस्कृति अरूलाई पनि देखाउने चाहनाले भिडियो फोटोमा रुचि बढ्यो। त्यही रुचिले अहिले पूर्णरूपमा घुमन्तेजस्तै भएको छु। यसरी घुम्ने क्रममा ६० जिल्ला पुगिसकेको छु।
घुमघाम क्रममा विभिन्न समाजका चालचलन, संस्कृति, परम्परा, भाषा, वेशभूषा, दुःख, सुख, संघर्षसँग पनि घुलमिल हुने मौका मिल्ने गर्छ। ती सबै विषयवस्तुलाई भिडियोमार्फत प्रस्तुति दिँदा धेरैले रुचाउँदै आउनुभएको छ।
नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म हेर्ने हो भने आफ्नै किसिमका भूगोल, सुन्दरता, समाज अनि संस्कृति भेटिन्छ। धेरै वृहत नभइकन, मेरो घुमाइमा मैले धेरै बुझ्ने मौका पाएको ठाउँ अनि समाजको कुरा गर्ने हो भने त्यो हो रुकुम पूर्व। रुकुम भन्नेबितिक्कै धेरैको दिमागमा माओवादी र द्वन्द्वकालको चित्र आउँछ। मेरो पनि त्यही नै थियो।
तर, रुकुमको लुकेको विशेषता भने छुट्टै छ। रुकुम पूर्व नयाँ नेपालको कान्छो जिल्ला, अनि लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो। रुकुम पूर्वका अधिकांश गाउँ पुगेको छु। त्यहाँका भाषा, चालचलन, संस्कार, भूगोल नजिकबाट नियालेको छु। अधिकांश मगर जाति अनि केही दलित, ठकुरीसँगै व्राह्मण, क्षेत्री अनि गुरुङ, नेवार बसोबास रहेको रुकुम पूर्वमा मगरहरूकै भाषा अनि संस्कृतिको प्रभूत्व छ।
मैले व्यक्तिगतरूपमा भन्नुपर्दा रुकुम पूर्व मगर संस्कृतिको जीवित संग्रहालय नै हो। मगरखाम भाषा, भूमे पर्व, मगरहरूको अन्य परम्परागत नाचगानसँगै सयौंको संख्यामा झाँक्रीहरू भेला भई मनाइने एक पृथक झाँक्री पर्व यो समाजमा अवलोकन गर्न सकिन्छ। संस्कृतिसँगै यहाँका बस्तीहरूको संरचनाको छुट्टै विशेषता छ। लुगुम, तकसेरा, मैकोट, हुकाम, महत, काक्रीजस्ता बस्तीहरूको सुन्दरता नियाल्दा आँखा थाक्दैनन्।
तत्कालीन माओवादी जनयुद्धले ती गाउँसमाजमा छाडेको छापहरूका विभिन्न कथा सुन्ने हो भने लामो इतिहास नै बन्छ। त्यहाँको यार्साको कथा धेरैले सुनेका होलान्, तर यहीँकै हुकाम अनि पेल्माको स्याउ भनेर सायदै केही व्यक्तिले सुनेका छन्। एउटै जिल्लामा दुई सुन्दर हिमाल (सिस्ने र पुथा) अझै पनि ओझेलमा छन्। पर्यटन संस्कृतिको धेरै ज्ञान त छैन, तर यो समाजका मानिसको अतिथ्य पाउँदा मनै लोभिन्छ। यति धेरै विशेषता बोकेको यो जिल्ला अझै पनि ओझेलमा छ।
योसँगै बयान गर्नैपर्ने अर्को ठाउँ हो- सुदूरपश्चिम बाजुराको बडिमालिका त्रिवेणी पाटन। ४ हजार २ सय मिटर उचाइमा अवस्थित विशाल फाँटहरू यहाँको विशेषता हुन्। अरू स्थानको भूगोलमा यतिको उचाइमा हेर्ने हो भने ठुल्ठूला चट्टान देखिन्छन, तर बडिमालिकाको त्रिवेणी पाटनको सुन्दरताले साँच्चै स्वर्गको अनुभूति दिन्छ।
विशाल पाटन अनि पाटनमा देखिने सयौं प्रजातिका भुइँफूलहरूसंगै पारि क्षीतिजमा देखिने सुदूरपश्चिमका हिमालका दृश्य गजबकै छ। अझै नजिक आसपास रहेका झरना, गाउँघरको कुरा बेग्लै नै छ। बाजुरा आफैंमा टाढा स्थान अनि सदरमुकाम मार्तडीबाट दुई दिन उकालो ट्रेक गरेपछि पुगिन्छ बडिमालिका त्रिवेणी पाटन।
तुलनात्मकरूपमा काठमाडौं र पोखराआसपास सुन्दर गन्तव्यहरू छन्। जुन प्रचारका हिसाबले धेरै अगाडि छन्। मैले खिच्ने र देखाउने भिडियोहरू भनेको सकेसम्म दुर्गम क्षेत्रमा रहेका सुन्दर दृष्यहरू नै हुन्। म त्यस्तै खालको गन्तव्य खोजीमा लागिरहेको हुन्छु। चर्चा अभावकै कारण ओझेलमा परेको पर्यटकीय गन्तव्यहरू सुदूरपश्चिम क्षेत्रमै धेरै देखिन्छन् र भेटिन्छन्।
हिमाली भेगका हिमाल, झरना अनि ताल, पहाडका थुम्का, तालतलैया, खोला अनि झरना र तराईका ठुल्ठूला फाँटहरू हेर्दा समग्र नेपालको भूभाग गजबको छ।
सुन्दरतासँगै दुर्गम स्थानका स्थानीयका दुःखका विषय अझै विशाल छन्। नेपालले विश्वसामु आफूलाई चिनाउन सक्ने एक मुख्य क्षेत्र नै पर्यटन हो। अहिले सीमित हिमाल तथा स्थानमात्रै आममानिसले देख्ने अनि चिन्ने मौका पाएका छन्।
अझै दूरदराजको ओझेलमा परेका सुन्दर स्थान अनि नेपाली मौलिक परम्परा र संस्कृति व्यवस्थित तरिकाले संरक्षण र प्रवद्र्धन गर्ने हो भने वृहत सम्भावना देखिन्छन्। र, वास्तवमै भन्नुपर्दा नेपालको गाउँघर साँच्चै सुन्दर छ।
(हेमन्तराई अफिसियल)