नेपालले अर्थतन्त्रको आकार बढाउनुपर्ने छ। नयाँ अवसर र सम्भावन खोजी गर्नुपर्ने आवश्यकता छ। नयाँ-नयाँ रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधि बढाउनुपर्ने छ।
अर्थतन्त्रमा विभिन्न नयाँ अवसर तथा उतारचढाव आइरहन्छन्। कोभिड महामारीपछि पनि नयाँ परिस्थिति सिर्जना भयो। विश्वभरि विकसित भए झैं नेपालमा पनि एउटा व्यवसाय खाद्यपदार्थको गृह-ढुवानी सेवा सुरु भयो। घरघरमा गृहिणीले खाद्य परिकार बनाएर कार्यालयहरूमा आपूर्ति गर्ने गरीसमेत आंशिकरूपमा रोजगारी प्राप्त गरे।
ठिक त्यसैगरी आफू खाली रहेको समयमा वा आफ्नो सवारी हुने मार्गमा कुनै व्यक्तिलाई आवश्यक भए सवारीसाधन उपलब्ध गराउने गरी कतिपयले सवारीसाधन साझेदारी (राइड सेयरिङ) सेवा पनि प्रारम्भ गरे र आम्दानीको अतिरिक्त स्रोतको जोहो गरे।
अहिलेको चलनचल्तीको ‘पठाओ’, ‘इनड्राइभर’, ‘टुटल’, ‘फुडमान्डु’ आदि यसैका विस्तारित रूप हुन्। आफ्नो घरमा उब्रेर बसेका कोठा केही दिनका लागि भाडामा दिने गरी अहिले कतिपयले ‘एयर बिएन्डबी’ मोडेलमा ‘होम स्टे’ समेत सञ्चालन गरेर अतिरिक्त आर्जनको माध्यम बनाएका छन्।
अहिले विशेषगरी आइटी क्षेत्रका व्यक्तिहरू आंशिकरूपमा आफ्नो समय र दक्षताअनुरूप स्वदेशी एवं विदेशी सफ्टवेयरसम्बन्धी कम्पनीहरूमा निश्चित अवधि तथा निश्चित परियोजनाका लागि पनि सेवा प्रदान गरिरहेका छन्। त्यसैगरी घरघर गएर ट्युसन पढाउनेदेखि लिएर स्वतन्त्ररूपमा परामर्श सेवा प्रदान गर्ने व्यक्ति पनि बग्रेल्ती भेटिन्छन्।
के हो गिग अर्थव्यवस्था?
आंशिकरूपमा कुनै परियोजना तथा समय विशेषमा निश्चित पारिश्रमिक लिने गरी नेपालमा मात्र होइन, विश्वभरि नै मानिस विभिन्न काममा यसरी आबद्ध भएका छन्। यस्ता कामलाई ‘गिग काम’ भन्ने गरिएको छ। यस्तै गिग कामले प्राप्त हुने आर्थिक अवस्थालाई ‘गिग अर्थव्यवस्था’ भनेर बुझ्न सकिन्छ। अर्काे शब्दमा भन्ने हो भने गिग अर्थव्यवस्था भनेको वास्तवमा एक प्रकारको स्वतन्त्र बजार व्यवस्था हो, जहाँ विभिन्न जनशक्तिले कुनै निश्चित अवधि र परियोजनाका लागिमात्र रोजगारी प्रदान गर्ने गर्छन्।
कुनै गिग-जनशक्ति आफूले बहन गर्नुपर्ने जिम्मेवारीका लागि कुनै अर्को व्यक्तिमा निर्भर हुनु नपर्ने र आफ्नो काम आफूले चाहेको तरिकाले चाहेको समयमा सम्पन्न गर्न पाउने स्वच्छन्दताको सुन्दर अवसर यसले प्रदान गर्छ।
वास्तवमा कुनै कलाकारलाई केही समयको अभिनयका लागि अथवा कुनै गीतकारलाई कुनै गीत लेखाउन वा कुनै संगीतज्ञलाई संगीत सिर्जना गराउन निर्धारित पारिश्रमिक दिने गरी निश्चित समयका लागि अनुबन्ध गरिन्छ भने त्यसलाई कलाकारिताको क्षेत्रमा ‘गिग’ भनिन्छ। पछि कालान्तरमा यस्तो प्रचलन कलाकारिताका अतिरिक्त अन्य पेसा र व्यवसायमा समेत विस्तारित भयो। पछि जुनसुकै क्षेत्रमा भए पनि यस्तो आंशिकरूपमा सेवा खरिद गर्ने चलनलाई गिग अर्थव्यवस्थाका रूपमा बुझिन थाल्यो। गिग काम र गिग अर्थव्यवस्थामा आबद्ध हुने जनशक्तिलाई चाहिँ गिग-जनशक्ति भनेर परिभाषित गर्ने गरिएको छ। अहिले विश्वमा करिब ६ करोड व्यक्ति गिग जनशक्तिका रूपमा रहेको अनुमान छ।
फाइदाको लेखाजोखा
गिग अर्थव्यवस्थाका फाइदा र बेफाइदाका दुवै पक्ष छन्। ‘काममा लचकता’ गिग अर्थव्यवस्थाको सबैभन्दा महत्वपूर्ण फाइदाजनक विशेषता हो। आफ्नो अनुकूलतामा आफूले चाहेको माध्यमबाट आफूले निर्धारण गरेको पारिश्रमिकमा सेवा दिन सकिने भएकाले गिग-जनशक्तिको दृष्टिकोणमा यस्तो व्यवस्थाको लचकता वरदान नै सावित हुन सक्छ।
धेरैजसो अवस्थामा गिग-जनशक्तिले कार्यालयमा नगई आफ्नै घरबाट समेत यस्ता सेवा दिन सक्ने सहुलियत पाउँछन्। त्यसैले गिग व्यवस्थाले कार्य-जीवन सन्तुलन कायम गर्न पनि उनीहरूलाई भरपुर मद्दत गर्ने कुरामा सन्देह छैन।
गिग व्यवस्थाको अर्काे महत्वपूर्ण फाइदा भनेको आत्म-स्वतन्त्रता पनि हो। कुनै गिग-जनशक्तिले आफूले वहन गर्नुपर्ने जिम्मेवारीका लागि कुनै अर्काे व्यक्तिमा निर्भर हुनु नपर्ने र आफ्नो काम आफूले चाहेको तरिकाले चाहेको समयमा सम्पन्न गर्न पाउने स्वच्छन्दताको सुन्दर अवसर यसले प्रदान गर्छ।
गिग-जनशक्ति माथि उल्लेख भए झैं आफ्नो समय र दक्षताअनुरूप संलग्न हुने भएकाले सेवा लिने कम्पनीहरूप्रति उनीहरूको प्रतिबद्धता सीमितमात्र हुने गर्छ, जसले गर्दा त्यस्ता जनशक्ति कुनै कम्पनीप्रति असन्तुष्ट भए तुरुन्तै त्यसबाट अलग रहन स्वतन्त्र हुन्छन्। आफ्नो अनुकूलतामा आफ्नो इच्छाअनुरूप संलग्न हुन पाइने भएकाले गिग-जनशक्ति कुनै एकै प्रकारको कामको कारण विरक्तिनुपर्ने अवस्था सिर्जना हुँदैन।
खासगरी स्थायी प्रकृतिका जनशक्तिलाई समाहित गर्नु नपर्ने र अवकास कोष, सामाजिक सुरक्षा कोष, सञ्चय कोषजस्ता कामदारका लागि व्यवस्था हुने कोषहरूमा कुनै योगदान गर्नु नपर्ने भएकाले कम्पनीहरूले दीर्घकालीन दायित्व वहन गर्नुपर्दैन। यसलाई व्यावसायिक प्रतिष्ठानहरूको दृष्टिकोणमा गिग अर्थव्यवस्थाको सबैभन्दा महत्वपूर्ण फाइदाका रूपमा लिन सकिन्छ।
यस्तो परिपाटीमा आफूलाई आवश्यक जनशक्ति बजारमा यथेष्ट मात्रामा उपलब्ध हुने हुनाले कम्पनीहरूले तुलनात्मक लाभहानि विश्लेषण गरी उनीहरूबाट उचित पारिश्रमिकमा उल्लेख्य सेवा प्राप्त गर्न पनि सक्छन्।
नेपालमा सम्भावना
हिजोआज संसारभरि नै गिग अर्थतन्त्र विस्तार हुँदै गएको छ। विश्व आर्थिक मञ्चले गिग अर्थतन्त्रलाई डिजिटल माध्यमबाट फ्रिलान्सरहरूलाई ग्राहकसँग जोड्ने खास गरेर अल्पकालीन प्रकृतिका सेवाका रूपमा अथ्र्याएको छ। नेपालमा पनि काठमाडौंमा केही वर्षयतादेखि राइड सेयरिङ सेवा लोकप्रिय भइरहेको छ। स्पेनले त केही वर्षअघि नयाँ कानुन स्वीकृत गरी गिग अर्थतन्त्रमा आधारित चालक (राइडर) हरूलाई ज्यालादारी मजदुरका रूपमा वर्गीकरण गरेको छ।
विकसित अर्थतन्त्रमा सम्पत्ति साझेदारी (एसेट सेयरिङ) जस्तै, कार, घर, पार्किङ स्थल आदि व्यवसाय गिग प्रणालीमा चल्ने गरेको पाइन्छ। घरेलु उपभोग, औद्योगिक वृद्धि र निजी लगानीमा आएको कमीका कारण विगत दुई वर्षमा रोजगारी सिर्जना सुस्त भएको छ। तसर्थ, रोजगारी अभावका कारण धेरै स्नातक, व्यावसायिक डिप्लोमा र डिग्री लिएका युवा अहिले गिग अर्थतन्त्रको हिस्सा बन्न थालेका छन्।
नेपालमा गिग अर्थतन्त्र अझै प्रारम्भिक चरणमा छ। सरकारसँग यकिन तथ्यांक नभए पनि अहिले आइटी प्रविधिमा आधारित नेपाल केन्द्रित सेवा प्रदान गर्ने व्यापार जस्तै, पठाओ, फुडमान्डु, उपाय सिटी कार्गाेका साथै विदेशी कम्पनीका लागि नेपालमा बसी विभिन्न सेवा प्रदान गर्ने कम्पनी मूलतः आइटी प्रविधिमा आधारित सेवा दिने थुप्रै कम्पनी दिनहुँ खुल्दै छन्, जसले सानोतिनो जागिरदेखि उच्च प्राविधिक कौशलमा आधारित ठूलो मात्रामा रोजगारी प्रदान गरिरहेका छन्। त्यस्ता कम्पनीले नेपालमा अत्यावश्यक विदेशी मुद्रा ल्याएका छन्।
त्यस अतिरिक्त यस्ता कम्पनीले युवा र दक्ष श्रमिकहरूलाई रोजगारीका धेरै अवसर नेपालमै उपलब्ध गराउँदै आएका छन्। अझ आउटसोर्सिङका रूपमा काम गर्ने नेपाली आइटी कम्पनीहरूले दक्ष नेपाली जनशक्तिलाई उच्च पारिश्रमिक उपलब्ध गराउँदै आएका छन्।
कुनै पनि नेपाली कर्पाेरेट क्षेत्रले दिन सक्नेभन्दा बढी छ। लिप फ्रग टेक्नोलोजी, कोटिभिटी, इन्सेसान्त रैन एनिमेसन स्टुडियो, सेडार गेट टेक्नोलोजीजस्ता आइटी सेवा सम्बन्धित विश्वप्रसिद्ध कम्पनीहरूमा नेपालबाट काम गरिरहेका छन्। हजारौं नेपाली युवालाई उच्च सीप र उच्च पारिश्रमिकको रोजगारी प्रदान गरिरहेका छन्।
नेपालको अर्थतन्त्रलाई गिग अर्थतन्त्रतर्फ लैजानुको सबैभन्दा ठूलो कारण भनेको डिजिटल सञ्चारको द्रुत विकास हो। अहिले डिजिटल सञ्चारले भौगोलिक बाधाहरूलाई पूर्णरूपमा हटाएको छ। डिजिटल सञ्चारको दु्रत वृद्धिले गिग अर्थतन्त्रलाई सबैभन्दा बढी उत्प्रेरित गरेको छ। काम अत्यधिक लचिलो र यसभित्र कुनै पनि भौगोलिक बाधाबिना जता बसेर पनि गर्न सकिन्छ।
नेपालको अर्थतन्त्रमा रोजगारीबाहेक कृषिबाट उत्पन्न बेरोजगारीको समस्या झेलिरहेका ग्रामीण युवालाई लाभदायक रोजगारी उपलब्ध गराउन सक्ने छ। यो नयाँ अर्थतन्त्रमा कर्मचारी र रोजगारदाता दुवै लाभान्वित भएका छन्। वास्तवमा एकातिर ठूला कम्पनीले दक्ष कर्मचारीलाई सस्तोमा राखेर काम लिइरहेका छन्। उनीहरूलाई निवृत्तिभरण, प्रोत्साहन वा अन्य सुविधा दिन कुनै बाध्यता छैन। अर्कातर्फ, श्रमिक जनसंख्याले विश्व अर्थतन्त्रमा योगदान गर्ने अवसर पाउँछन्। उनीहरूका लागि रोजगारीको उपलब्धता बढ्छ। गिग अर्थतन्त्रका कर्मचारीहरूसँग आफ्नो मनपर्ने काम गर्ने स्वतन्त्रता छ।
तिनीहरू कुनै पनि समयमा आफ्नो जागिर छाडेर नयाँ काम गर्न सक्छन्। गिग अर्थतन्त्र महिलाका लागि पनि धेरै लाभदायक साबित हुँदै छ। वास्तवमा, सबै सामाजिक कारणले गर्दा नेपालमा महिला धेरै अवसरबाट वञ्चित छन्। उनीहरूलाई बाहिर काम गर्नबाट रोकिएको छ। यस्तो अवस्थामा गिग अर्थतन्त्रअन्तर्गत उनीहरूले घरबाटै काम गर्ने वाञ्छित विकल्प पाइरहेका छन्। महिलाहरूले पनि अर्थतन्त्रमा आफ्नो उचित योगदान दिइरहेका छन्।
गिग अर्थतन्त्रका चुनौती
विकसित देशा अर्थशास्त्री, वैज्ञानिक र नीति निर्माताहरूले चौथो औद्योगिक क्रान्तिको बहस र पाँचौं चरणको औद्योगिक क्रान्तिबारे सोच्न र तयारी गर्न थालिसकेका छन्। हामी भने अझै पनि परम्परागत मान्यताभन्दा माथि उठेर चिन्तन गर्न सकेका छैनौं। अझ भनौं, पहिलो औद्योगिक क्रान्तिका बेलाको जस्तो सोच, चिन्तन र मानसिकता बोकिरहेका छौं। प्रविधि हस्तान्तरण र विस्तारको गति तीव्र छ। यस्तो अवस्थामा अमुक पक्षलाई दोष दिनुभन्दा पहिले नै विकसित हुँदै गरेका विश्वव्यापी ट्रेन्ड र नवप्रवर्तन पछ्याउन सकिएन भने प्रतिस्पर्धामा पछि परिन्छ।
अहिले पनि नेपाली समाजमा पूर्णकालीन र स्थायी प्रकृतिको नोकरी र जागिर हुनुपर्छ भन्ने आममान्यता छ। यस्तो रोजगारीबाट अप्रत्यक्ष लाभहरू- पेन्सन, स्वास्थ्य बिमा र नियमित तलब भुक्तानी मिल्छ। अकोतर्फ, कोभिड प्रभावले गर्दा निजी र असंगठित क्षेत्रमा कार्य गर्ने थुप्रै श्रमिक बेरोजगार हुन पुगेका छन्। भनिन्छ, हरेक समस्याले सँगसँगै समाधान पनि बोकेर ल्याएको हुन्छ। ‘जहाँ चुनौती, त्यहाँ अवसर’ भन्ने प्रचलित मान्यता नै छ। नेपालको अर्थतन्त्रमा यस्तै नयाँ प्रकृतिको अवसर स्थापित हुन खोजिरहेको छ।
तर, सरकार धेरै रोजगारी प्रदान गर्ने यस्ता कम्पनीलाई प्रवद्र्धन र प्रोत्साहन गर्नुको साटो उल्टै कानुनको नाममा सरकारले समय–समयमा धेरै बाधा अवरोध गर्ने काम गर्दै आएको छ। यी योगदानबीच नेपाल सरकार यी कम्पनीहरूप्रति खासै सकारात्मक देखिएको छैन। जस्तै, सवारी तथा यातायात ऐन २०४९ को दफा ८ (२०) मा ‘निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न नपाइने’ र दफा १२ मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनका निम्ति प्रयोग गर्न नपाइने’ भन्ने कानुनी व्यवस्थाअनुसार सरकारले समय–समयमा सार्वजनिक यातायातमा सेवा दिइरहेका टुटल र पठाओलाई कारबाही गर्ने चेतावनी दिने गरेको छ।
नेपालस्थित आइटी कम्पनीहरूलाई विदेशी मुद्रा नेपालमा ल्याउन कठिन कानुनी प्रक्रियाबाट गुज्रिनुपरेको छ। करका नाममा उनीहरूलाई कर कार्यालयले सास्ती दिने गरेको छ। विदेशी लगानी भएका आइटी कम्पनीहरूले नेपालबाट लाभांश लान हरेक वर्ष समस्या झेलिरहेका छन्।
गिग अर्थतन्त्रमा काम गर्ने कर्मचारी असंगठित क्षेत्रबाट आउने भएकाले उनीहरूलाई संगठित क्षेत्रका कर्मचारीले जस्तै सुविधा (निवृत्तिभरण, जीवन बिमा, स्वास्थ्य, शिक्षा, तलब) उपलब्ध गराइँदैन, जुन गिग अर्थतन्त्रको सबैभन्दा ठूलो कमजोरी हो। त्यसैले गिग अर्थतन्त्रमा काम गर्ने मानिसको सामाजिक र आर्थिक असमानता सधैं बढ्ने जोखिम छ।
समयमै सम्पन्न गर्नुपर्ने भएको यो अर्थतन्त्रमा कामको दबाब एकदमै धेरै हुन्छ। यस अर्थतन्त्रमा श्रमिकहरू सामाजिक सुरक्षा र श्रम अधिकारबाट पनि वञ्चित छन्। यद्यपि, कोही÷कोही तर्क गर्छन् कि नेपालको गिग अर्थतन्त्र अनौपचारिक श्रमको विस्तार हो, जहाँ श्रमिकहरूका लागि सामाजिक सुरक्षा, बिमा, आदि छैन, जुन लामो समयदेखि प्रचलित छ र अनियन्त्रित छ।
निष्कर्ष
गिग अर्थतन्त्रअन्तर्गत रोजगारी सिर्जना हुनु नेपालको अर्थतन्त्रको वृद्धिका लागि राम्रो संकेत हो। देशको आर्थिक मन्दी र रोजगारीको अभाव दृष्टिगत गरी गिग अर्थतन्त्रलाई प्रवर्द्धन गर्न आवश्यक छ। तर, त्यसमा रहेका कमीकमजोरी पनि हटाउनुपर्छ। यसबाहेक हामीले यो बिर्सनु हुँदैन कि औपचारिक वा परम्परागत कामहरूको कमीका कारण गिग अर्थव्यवस्था बढिरहेको छ।
अर्थतन्त्रको आकार कसरी बढाउने, नयाँ रोजगारीका अवसर सिर्जना, रोगजारीको बजारमा शोषण नहुने सुनिश्चितता, पुरानो रोजगारीबाट विस्थापित हुनेलाई कसरी परिपूर्ण गर्ने भन्नेलगायत विषयमा ध्यान दिनु आवश्यक छ।
यसलाई व्यवस्थित गर्न र नयाँ अवसर सिर्जना गर्न सरकारले अतिरिक्त सक्रियता बढाउनुपर्छ। समस्या घटाएर लाभ कसरी बढाउने भन्नेमा ध्यान दिनुपर्छ। कानुनमा भएका व्यवस्थालाई गिग इकोनोमीलाई टेवा पुग्ने गरी परिमार्जन गर्नुपर्छ। नयाँ कानुन बनाउँदा यी विषयवस्तुलाई ध्यान दिनुपर्छ।
[थापा नेपाली कांग्रेसका महामन्त्री हुन्। उनको यो विचार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक पब्लिकेसन ‘अर्थनीति’ बाट लिइएको हो।]