कटारी (उदयपुर)। कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट १ हजार ९ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन्। त्यसैगरी सोही वर्ष ४ सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराँतीका अनुसार कुल रेमिट्यान्समध्ये सबैभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भएको छ।
‘कुल भित्रिएको रेमिट्यान्समध्ये १४ प्रतिशतमात्रै बचत देखियो, एक दशमलव सात प्रतिशत ऋण लगानी भएको छ,’ उनले भने, ‘शून्य दशमलव पाँच प्रतिशत व्यवसाय र ८४ प्रतिशत अनुत्पादक क्षेत्र अर्थात मोबाइल तथा टिभीलगायतमा खर्च भएको देखियो।’
वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाका लागि पुनःएकीकरण (रेमी) परियोजनासमेत सुरु भएको छ।
नेपाल सरकारको श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हुँदै यो परियोजना कोशी प्रदेशका १० स्थानीय तहमा सुरु भएको छ।
स्वीजरल्यान्ड सरकारको सहयोगमा ‘हेल्भेटास नेपाल’मार्फत सुरु भएको यो परियोजना उदयपुरका आठ स्थानीय तहमध्ये कटारी नगरपालिकामा सुरु भएको हो।
नगरपालिका प्रमुख राजेशचन्द्र श्रेष्ठले विदेशबाट फर्किएकालाई आर्थिक, सामाजिक, राजनीतिक समस्या समाधानका लागि रेमी परियोजनाले काम गर्ने बताए।
‘परियोजनाको सुरुवाती चरण थालिएको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘वडा नम्बर ५ र ७ मा धेरैजना विदेश जाने गरेको पाइएकाले त्यहाँबाट परियोजना सुरुवात गरेका छौं।’
परियोजना संयोजक जयन्ती तामाङले विदेशबाट फर्किएकाहरू मनोसामाजिक, आर्थिक, सामाजिक र राजनीतिकरूपमा कसरी समाजमा एकीकरण गर्न सकिन्छ भन्ने क्षेत्रमा काम सुरु भएको बताए।
नगरपालिकाभित्र रेमिट्यान्स भित्रिएको देखिए पनि यसको सही सदुपयोग नहुँदा समाजमा एकीकरण भई फर्किएकाहरू बाँच्न नसक्ने अवस्थाको अन्त्यका लागि परियोजनाले काम सुरु गरेको हो।